राजावादीहरुको आन्दोलनबारे एमाले नेता अधिकारीको टिप्पणी : ‘भरेको बेलुन फुस्कियो’


काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले कांग्रेस–एमालेको सरकारले विकास गरिरहेको दाबी गरेका छन् । उनले अहिले अर्थतन्त्र लयमा फर्किएको पनि दाबी गरे ।

आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले गणतन्त्रमा उत्सव मनाउनुपर्नेमा जोड दिए । राप्रपाका नेताहरुले सिंहदरबारमा प्रदर्शन गरेको कुरालाई हावादारी गफको संज्ञा दिएका छन् ।

राप्रपाको पछिल्लो गतिविधिले आगामी निर्वाचनमा भोट धेरै नै घट्नेवाला रहेको अधिकारीको भनाई छ । राजेन्द्र लिङ्देनहरुले अयोग्यताको पराकाष्ठा देखाएको उनको टिप्पणी छ । संघीयता खारेज गर्छु भन्नेहरुलाई चुनावमार्फत दुई तिहाई ल्याएर खारेज गर्न पनि अधिकारीले चूनौति दिए । उनले राजावादीहरुको आन्दोलनलाई ‘ट्याई ट्याई फिस, भरेको बेलुन फुस्कियो’ को संज्ञा दिए । पूर्वराजा ज्ञानेन्द्र शाहकै कारणले पनि नेपालमा गणतन्त्र आएको उनको भनाई छ ।

उनले भने,‘आन्दोलनलाई लिएर अहिले नकारात्मक टिप्पणी भयो भन्दा होईन मैले त बोलाएको होईन भनेर एक जना आन्दोलनकारीले अभयदान दिएको व्यक्तिले, त्यसको पछि लागेर शुक्रबारे कचरी गर्नेहरुले भनेको कुरा कसैले पत्याउँछ ? त्यो कुरा कसैले विश्वास गर्न सक्छ ? मान्छेलाई जातमा भड्काउने, धर्ममा भड्काउने, अनेक कुरामा भड्काउने, देशलाई उथलपुथल पार्ने, हिजोका लुटपाटका सपना, हामीले देखेका छैनौं ? तपार्ईहरुलाई ठाउँको ठाउँ प्रतिबन्ध लगाएको, हामीलाई नजरबन्दमा राखेको ? यो गणतन्त्र त उसैको कारणले पनि आएको छ नि । हिजो अपराधपूर्ण कर्म गर्नेले, त्यसकारणले नक्कली एउटा उसमा भएको, त्यतिखेर दलहरुले मौका दिएकै थिए, त्यो अपराध कर्म गरेर, मान्छेको हत्या गरेर, लाशको खाट बनाएर तमाशा मच्चाएको, तपाईं हामीले रगतको आहाल बगाएको हामीले देखेका छैनौं ? अनि आजपनि त्यही बाटो हिँड्न खोज्नेहरुलाई किन महत्व दिएको हो ?’