प्रधानमन्त्री ओलीजस्तो अयोग्य र गैरजिम्मेवार यो देशमा कोही छैनः भीम रावल


काठमाडौं, ९ वैशाख । पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले शिक्षकहरुले माग सम्बोधन हुन नसक्नुले सरकार पूर्ण असफल भएको पुष्टि भएको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विद्यार्थी भर्ना गर्नुपर्ने, एसईईको उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने र कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने बेलामा शिक्षकहरुलाई वार्तामा समेत राख्न नसक्नु प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार प्रवृत्ति र असक्षमता रहेको बताए ।

‘आज २१ दिन भयो शिक्षकहरुले आन्दोलन गर्नुभएको । त्यस्तो गम्भीर विषयमा, राष्ट्रलाई दीर्घकालीन असर पर्ने विषयमा शिक्षकहरुलाई वार्तामा ल्याएर परीक्षा लिन जानुस्, तपाईँहरु उत्तरपुस्तिका हेर्नुस्, अरु कुरा गर्दै गरौंला भन्नेसमेत नसक्ने प्रधानमन्त्री जती अयोग्य, गैरजिम्मेवार यो देशमा को हुनसक्छ ? यस्तो सरकारको औचित्य नै छैन,’– उनले भने ।

साथै, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनमा दिन्को कारण प्रधानमन्त्री ओलीले आवश्यक सहयोग नगर्नु नै रहेको उनले बताए । प्रधानमन्त्रीलाई शिक्षकको समस्याबारे कुनै चिन्ता नरहेको र खुलेआम कानुनको उल्लङ्घन गरिरहेको उनले बताए । ‘मन्त्रिपरिषद्बाट विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीजीबाट आवश्यक सहयोग नभएको हुँदा उहाँले राजीनामा गर्नुभयो । यद्यपि उहाँले स्वास्थ्यको कारणले भने पनि मानिसहरुले अहिले ब्यापक चर्चा गरिरहेका छन्, केपी ओलीजीको असहयोगको कारणबाट नै उहाँले राजीनामा गर्नुभयो भन्ने विषय व्यापक चर्चा बनिरहेको छ,’– उनले भने । File Photo/RN