शिक्षा मन्त्री नबन्ने डा.शाक्यको उद्घोष, रूचि र विज्ञता नरहेको प्रष्टोक्ति


काठमाडौं, ९ वैशाख । राष्ट्रिय सभा सदस्य डा.अन्जान शाक्यले आफू शिक्षा विज्ञान तथा प्रविधिमन्त्री नबन्ने बताएकी छन् । उनले यस विषयमा आफ्नो रुचि र विज्ञतासमेत नरहेको बताएकी छन् । केही सञ्चारमाध्यमहरुले आफ्नो नाम जोडेर भावी शिक्षामन्त्रीको रुपमा प्रचार गरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेकी छन् ।

‘केही सञ्चारमाध्ययममा म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर डाक्टर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो । यो विषयमा मैले नवोल्दा वा कुनै प्रतिक्रिया नदिँदा पनि हुने हो । तर, मेरा शुभचिन्तक, मसँग सरोकार राख्ने र आफन्तहरुमा समेत यहि भ्रामक र कपोलकल्पित प्रचारका कारण भ्रम सिर्जना होला भनी सामान्य केही जानकारी गराउने प्रयास गरेको छु,’– उनले भनिन् ।

उनले आफू भर्खरै अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएर आएको स्मरण गराउँदै नेपालको इज्जत र प्रतिष्ठा अन्तराष्ट्रियस्तरसम्म लैजाने भूमिकामा आफू रहेको बताएकी छन् । उनले पहिलो कर्तव्य उक्त संस्थामा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्ने रहेको बताएकी छन् ।

त्यस्तै राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले ऐन कानुन बनाउन सक्रिय भूमिका खेल्नुपर्ने दायित्व पनि आफूसँग रहेको स्मरण गराउँदै उनले अहिले तुरुन्तै मन्त्री भएर आफ्नो कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा आफू प्रतिवद्ध रहेको बताएकी छन् । आफूविरुद्ध पूर्वाग्रह राखी केही मिडियाहरुले भ्रामक प्रचार गरेको उनले बताएकी छन् ।

‘पूर्वराजदूतको समेत जिम्मेवारी सम्हालिसकेको अनुभव मात्रै होइन आफ्नो कर्तव्य र इमान्दारिताका लागि विश्व समुदायबाट सम्मानित भएर अन्तराष्ट्रिय पुरस्कारहरु समेत पाइसकेको व्यक्ति हुँ भन्ने जानकारी पनि यहाँ स्मरण गराउँन चाहन्छु । मलाई जानकारी भएअनुसार केही मानिसले मप्रति पूर्वाग्रह राखेरनै अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको होला भन्ने ठानेको छु,’– उनले भनेकी छन् ।

शिक्षकहरुको आन्दोलन २०औं दिनमा पुग्दा पनि समस्याको समाधान ननिस्किएपछि शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी थिईन् । भट्टराईको राजीनामासँगै भावी शिक्षामन्त्रीको रुपमा डा.शाक्यको नाम जोडेर केही सञ्चार माध्यमहरुले लेखेका थिए । File Photo/RN