काठमाडौं, ११ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले दुर्गा प्रसाईँको मानसिक स्वास्थ्य पनि परीक्षण गराइनुपर्ने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ऋण व्यवस्थापन गर्न नसकेर भौतारिएका प्रसाईँको मानसिक स्वास्थ्य परीक्षण आवश्यक रहेको बताएका हुन् । गत चैत १५ गते राजावादी समूहले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि उनी अहिले प्रहरी हिरासतमा छन् ।
‘देशको भविष्यप्रति चिन्तित मान्छे होइन, अरुद्वारा परिचालित पालित पोषित मान्छे हो दुर्गा प्रसाईँ । दुर्गा प्रसाईँले साँढे ८ अर्ब जति बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिरेको एक हिसाबले भन्नुहुन्छ भने ऋण तिर्न पर्दैन भनेर दिउँसै रात पार्ने मान्छे हो । अब त्यो ऋणको पुँजीकृत हुँदै जाँदा ऋण व्यवस्थापन गर्न नसक्ने हालतमा पुगेर, मैले त भनेको छु– दुर्गा प्रसाईँको अनुसन्धानको क्रममा, अभियोजनको क्रममा मानसिक स्वास्थ्य पनि परीक्षण गर्नुपर्छ । उनी त्यो ऋण व्यवस्थापन गर्ने अवस्थामा छैनन् । उ दासता र दलालीको निम्ति राजाको टाट्नामा पुगेको छ,’– उनले भने ।
साथै, पूर्वराजा ज्ञानेन्द्र शाहहरुले धेरै फु्र्तीफार्ती गर्न आवश्यक नरहेको उनले बताए । नेता थापाले राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको रगतमै प्रतिगामी प्रेत नाचिरहेको बताए । मिश्रका बाबु मनोजबाबु मिश्रले २०४६ सालमा पञ्चायत गएपछि घामको मुख हेर्दिनँ भनेर अध्यारोमै जीवन समाप्त पारेको बताए । त्यस्तो खालको जेनेटिकबाट आएका व्यक्तिले लोकतन्त्रलाई नस्विकारर्नुलाई नौलो मान्न नहुने उनले बताए ।




प्रतिक्रिया