काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा रहन पार्टीले आधारभूत कुरामा कम्प्रमाइज नगर्ने बताएका छन् । आज (बिहीबार) लोकतन्त्र दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारमा रहँदा कतिपय कुरामा कम्प्रमाइज गरिएको भएपनि आधारभूत कुरामा कुनै सम्झौता नहुने बताएका हुन् ।
‘हामी नेपाली कांग्रेस पार्टी, आज हाम्रो बाध्यता छ । हामी एक्लै छैनौं, सरकारमा छौं । कतिपय हामीले कम्प्रमाइज गरेका छौं । तर, आधारभूत कुराहरुमा हामीले कम्प्रमाइज गर्दैनौं, हामीले भन्न सक्नुपर्छ । हामी पर्यो भने यस्तो सरकारबाट बाहिर जान्छौं । सरकार नै सबैभन्दा ठूलो कुरा थियो भने त ज्ञानेन्द्रले सरकार बनाउँदा गएनौं त, महेन्द्र, वीरेन्द्रले बनाउँदै गर्दा हाम्रा नेताहरु जानुभएन । मैले यो सरकारको मात्रै कुरा गरेको होइन, कु्नै पनि सरकारको भनेको । हाम्रो फन्डामेन्टल कुराहरु अनकम्प्रमाइजिङ हुन्छ,’– उनले भने ।
यो पनि पढ्नुहोस्ः बैंकक उड्नुअघि दाहाललाई देउवाको फोन, फर्किनेबित्तिकै भेट्ने वाचा
महामन्त्री थापाले कांग्रेसले वर्तमान संविधानको स्वामित्व ग्रहण गरेर यसलाई थप सदृढ बनाउँदै लाने उनले बताए । ‘हामी यसलाई खल्बल्याउँदैनौं । हामी यसलाई सुदृढ बनाउँछौं । हामीले बनाएको संविधान हो,’– उनले भने ।
महामन्त्री थापाले आफूहरुले गरेको वाचाअनुसार सरकारको गति र मति दुवैमा प्रश्न रहेको बताए । अहिले पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपतिलगायत फेरि दलको जिम्मेवारीमा फर्किने कुरा कम्तिमा कांग्रेसको लागि नसुहाउने उनले बताए । अरु पार्टीहरुले राजनीतिमा फर्काएपनि कांग्रेसले उक्त संस्थाको गरिमा राख्नका लागि पनि पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति पार्टीको राजनीतिमा आउन हुँदैन भन्नुपर्ने उनले बताए ।





प्रतिक्रिया