काठमाडौं, १२ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेका छन् । आज (शुक्रबार) विज्ञप्ति जारी गर्र्दै उनले विगतमा झैं निरन्तर संवाद र छलफल गरी सामूहिक रूपमा समाधानको उपाय खोज्न महासंघलाई आग्रह गरेका हुन् । महासंघसँग सरकारले यसबीचमा पटक–पटक गरेको सहमति कार्यान्वयन गर्दैतत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षकहरु गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोनलमा छन् ।
शिक्षकहरुको माग सम्बोधन गर्न नसकेकै कारण विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिईन् । शिक्षकहरुलाई वार्तामा आउन आग्रह गर्दै मन्त्री पन्तले भनेका छन्, ‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छदैछ । तसर्थ, शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु ।’ File Photo/RN




प्रतिक्रिया