काठमाडौं, १२ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताहरु सत्ता पक्षमा छन् कि प्रतिपक्षमा छन् भन्ने कुरा थाहा पाउनै गाह्रो भएको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसका केही नेताहरुले सरकारप्रति असन्तुष्टि व्यक्त गरिरहेको सन्दर्भमा यस्तो टिप्पणी गरेका हुन् । नेता विष्टले दुई दलबीचको आपसी समझदारी, सहमतिको आधारमा सरकार अगाडि बढिरहेको र कहीँकतै असहमति पैदा भएको खण्डमा राजनीतिक संयन्त्रमा बसेर छलफल गरिनुपर्ने बताए ।
‘असहमति र सुधार गर्नुपर्ने कुरामा आन्तरिक पद्धतिहरु छन् । त्यहीँ नै समाधान खोजौं, त्यही नै समीक्षा गरौं । तर, सरकार गयो, गयो वा सरकारप्रति असन्तुष्टि व्यक्त गर्ने, निराशा पैदा गनेृ काम कसैले पनि नगरौं । कहिलेकाहीँ त यस्तो लाग्ने गर्छ, सत्तामा रहेका साथीहरु पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा ? कहिलेकाँही चिन्न पनि गाह्रो हुने अवस्था पैदा हुन्छ ,’– उनले भने ।
असन्तुष्टिबाट माथि उठेर गठबन्धनको संस्कृतिलाई अगाडि बढाउन उनले आग्रह गरे । उनले आगामी १४÷१५ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरिने पनि उनले विश्वास व्यक्त गरे । ‘केपी ओली नेतृत्वको यो सरकार रहने र जाने महत्वपूर्ण कुरा होइन । सरकार अजम्बरी छैन, एक दिन त जान्छ नै । १४÷१५ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण हुन्छ नै,’– उनले भने ।




प्रतिक्रिया