‘शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ’


काठमाडौँ, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले शिक्षकका आवाज सरकारले नसुनेकामा गुनासो प्रकट गर्दै तत्काल जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अग्रगामी एजेण्डासहित विद्यालय शिक्षा विधेयक पारित गर्न कुनै कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिए ।

सहकारीपीडित, मिटरब्याजपीडित र चिकित्सलगायतको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदेखाएमा असन्तुष्टी प्रकट गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न उच्चस्तरीय शक्तिशाली छानबिन आयोग गठन गर्न माग गरे । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई यथार्थपरक र जनमुखी बनाउन आग्रह गरे ।

सङ्घीय संसद्को वर्खे अधिवेशन खास अर्थमा देश र जनताका पक्षमा केन्द्रित होओस् भन्ने उनले कामना गरे । रासस