काठमाडौं, १२ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताधारी दलकै कारण लोकतन्त्रमाथि चौतर्फी महला भइरहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने,‘हामीले जसरी यो लोकतन्त्र, गणतन्त्रलाई नेपालमा स्थापना गर्यौं, योमाथि चौतर्फी हमला छ । अब सत्ताधारी साथीहरुकै कारणले हो भन्छु म यो ।’
ृउनले लोकतन्त्र र गणतन्त्रका लागि लडेकाहरुको चरित्रको कारणले जनता रुष्ट रहेको बताए । अध्यक्ष केसीले भ्रष्टाचार चरम सीमामा पुगेको दाबी गरे । भ्रष्टाचारीहरुलाई सत्ता र शक्तिमा बस्नेहरुबाट संरक्षण रहेको कारण व्यवस्थामाथि खतरा बढेको उनले बताए । लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता जोगाउन सबै एक ठाउँमा आउनुपर्ने उनले बताए ।
‘त्यसकारणले मैले के सुझाव दिन्छु साथीहरुलाई भने– लोकतन्त्र, गणतन्त्र हामीले जसरी लडाइँ गरेर प्राप्त गर्यौं । यसमाथि कालो बादल मडारिएको छ । यसको रक्षा गर्ने पक्षमा हामी एक ठाउँमा हुनुपर्छ । हाम्रो बीचमा जतिसुकै मतभेद भए पनि लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता जोगाउनका लागि हामी फेरि पनि एक ढिक्का हुनुको विकल्प छैन,’– उनले भने । File Photo/RN




प्रतिक्रिया