काठमाडौं, १३ बैशाख। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सरकारबाट नबाहिरिएसम्म कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन नफुट्ने दाबी गरेका छन् । उनले कांग्रेसले एमालेसँग गरेको ७ बुँदे सहमतिप्रति प्रतिबद्ध छौं भनेर बारम्बार प्रतिबद्धता जाहेर गरेको पनि स्मरण गराए ।
उनले भने,‘हामी ७ बुँदे सहमतिप्रति प्रतिबद्ध छौं । अनि सरकार कहाँबाट गिर्छ ? त्यो त बजारको हल्लामात्रै हो ।’ आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले महँगी नियन्त्रण सजिलो कुरा नभएको भन्दै यसलाई अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने सुनाए ।
सुशासन र विकास ८ देखि ९ महिनाभित्रै सुधार नहुने उनको भनाई छ । यद्धपी उनले देश समस्याबाट मुक्त छ भनेर आफूहरुले नभनेको स्पष्ट पारे । गभर्नर नियुक्तीमा जटिलता अवश्य देखिएको र एउटै पार्टीको सरकार नभएकोले गभर्नर नियुक्तीमा ढिलाई भएको उनको भनाई छ । उनले गनर्भर नियुक्ती चाँडै हुने विश्वास दिलाए ।
देशमा भ्रष्टाचार अहिलेको सरकार जन्मिएपछिमात्रै सुरु नभएको भन्दै पहिलादेखिको निरन्तरता भएकोले अहिले सुशासन कायम गरिने विश्वास दिलाए । उनले देशमा कहिल्यैपनि राजनीतिक आन्दोलन नसकिएको बताए । तर, सरकार अब सुशासनको सवालमा एकदमै कठोर भएर प्रस्तुत हुनुपर्नेमा उनको जोड छ । शिक्षकहरु र चिकित्सकहरुको मागप्रति सरकार संवेदनशील भएको भन्दै त्यसकोपनि समाधान निकाल्ने उनले विश्वास दिलाए । अहिले देशमा विद्यमान सबैखाल समस्याको समाधान गर्न सरकार अग्रसर भैराखेको घिमिरेले बताए ।




प्रतिक्रिया