तत्काल महाधिवेशन स्थगन् गरेर सहमतिमा अर्को मिति तय गर्नु नै संस्थाको लागि बढि हितकर हुन्छ : पूर्वअध्यक्ष पन्त


काठमाडौं, १३ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष कुमार पन्तले अहिले गर्ने भनिएको एकता महाधिवेशन तत्काल स्थग्न गरेर सहमतिको आधारमा अर्को मिति तय गर्नुपर्ने बताएका छन् ।

पूर्व अध्यक्ष शेष घलेलाई सम्बोधन गर्दै लेखेको पत्रमा पूर्व अध्यक्ष पन्तले आफू एकताबद्ध एनआरएनएको पक्षमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सहमतिको आधारमा अर्को मिति तय गर्नु नै हित हुने स्पष्ट पारेका छन् ।

संस्थाको एकता कसैको मनोगत चाहनाले मात्रै नहुने भन्दै पन्तले अहिले जुन समयमा गर्ने भनिएको एकता महाधिवेशनले त्यसले एकताभन्दा बढि संस्थालाई विग्रहतिर लैजानसक्ने जोखिम देखिएको टिप्पणी गरेका छन् ।

घलेलाई सम्बोधन गरेर पन्तले लेखेको पत्र यस्तो छ

आदरणीय शेष घलेदाइ,

तपाईँले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरू समेतलाई सम्बोधन गरी जारी गर्नुभएको विज्ञप्ति पढियो । एनआरएनएमा एकताको चाहना राख्नुभएकोमा खुसी लाग्यो । तपाईँको यस भावनाको उच्च सम्मान र समर्थन गर्छु । म पनि एकताबद्ध एनआरएनएको पक्षमा प्रतिबद्ध छु ।

तर, हामी कसैको मनोगत चाहनाले मात्र एकता हुन सक्दैन । अहिले जुन समयमा जुन एकताको महाधिवेशन गर्ने भन्दै हुनुहुन्छ, त्यसले एकताभन्दा बढी संस्थालाई विग्रहतिर लैजान सक्ने जोखिम देखिएको छ ।

यहाँले संवादका लागि आह्वान गर्नुभएको रहेछ । यो एकदमै राम्रो कुरा हो । हाम्रो समस्या अरू कसैले समाधान गरिदिँदैन । अदालत वा परराष्ट्र मन्त्रालयले पनि समाधान गरिदिने होइन । हामीहरूले नै बसेर उचित निकास निकाल्नुपर्छ र हामी सबै समाधानमुखी भएर प्रस्तुत भएमा यसमा सफल पनि हुन्छौँ भन्ने लाग्दछ ।

तसर्थ, अहिलेलाई तत्काल यो महाधिवेशन स्थगित गर्ने र सहमतिको अर्को मिति तय गर्ने कुरा बढी हितकर हुन सक्छ भन्ने मेरो विचार छ ।

धन्यवाद ।
कुमार पन्त
पूर्वअध्यक्ष, गैरआवासीय नेपाली संघ