कांग्रेस सह-महामन्त्री यादवको चरित्र हत्या गरेको भन्दै धनुषामा जलाइयो लिङ्देनको पुत्ला


काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले धनुषामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्दान जलाएका छन् । लिङ्देनले कांग्रेस सह–महामन्त्री महेन्द्र राय यादवको छोरालाई भाटभटेनी लुटपाट घटनामा जोडेर हुँदै नभएको भ्रम फैलाएको भन्दै उनीहरुले लिङ्देनको पुत्ला जलाएका हुन् । उनीहरुले लिङ्देनले भ्रम फैलाएको भन्दै कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

हिजो (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले भाटभटेनी लुटपाटमा कांग्रेसका नेता यादवको छोरा सहभागी भएको आरोप लगाएका थिए । तर, सह–महामन्त्री यादवका दुई भाइ छोराहरुमा उनीहरु दुबै जना डाक्टर रहेको र उनीहरु नेपाल बाहिर रहेको बताइएको छ । लिङ्देनले सह–महामन्त्री यादवको चरित्र हत्या गर्ने मनशाय राखेर उक्त अभिव्यक्ति दिएको कांग्रेस नेता तथा कार्यकर्ताको आरोप छ ।

कांग्रेस नेता तथा कार्यकर्ताहरुले मधेस प्रदेश सभा सदस्य कुमरकान्त झाको नेतृत्वमा लक्ष्मीनियाँमा जनकपुर–ढल्केबर सडकमा प्रदर्शनसहित लिङ्देनको पुत्ला जलाएका थिए ।