काठमाडौं, १४ वैशाख । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले आफैंले लिएको परीक्षामा फेल हुने र पटक–पटक सम्पत्ति विवरण सार्वजनिक गर्न माग हुँदासमेत सार्वजनिक गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुशासन आयोग गठन हुनु हाँस्यास्पद रहेको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको सुशासन आयोगको औचित्यमाथि प्रश्न उठाएका हुन् । प्रधानमन्त्रीको मातहतमा अहिले विभिन्न ५१ वटा निकाय रहेको बताउँदै उनले ‘ती सरकारी संयन्त्रमाथिको विश्वास सकिएको हो ?’ भन्दै प्रश्न गरे ।
‘आफैंले लिएको परीक्षामा फेल भएका प्रधानमन्त्रीले १०औं महिना सुशासन दिन असफल भएपछि अहिले आफ्नै नेतृत्वमा सुशासन आयोग गठन भएको हाँस्यास्पद कुरा सुनिरहेका छौं । म सोध्न चाहन्छु–सुशासन आयोगको औचित्य के हो ? सुशासन आयोग किन ? के हाम्रो सरकारी संयन्त्रहरु फेल भइसक्यो ? के सरकारी संयन्त्रमाथि प्रधानमन्त्रीको विश्वास छैन ? प्रधानमन्त्रीजीको नेतृत्वमा ५१ वटा निकाय छ । त्यो निकायले के काम गर्यो ? हामी जान्न चाहन्छौं । यदि हाम्रा संयन्त्रमाथि विश्वास छैन भने त्यसलाई किन राख्ने ? प्रधानमन्त्री जसले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दैनन्, पटक–पटक माग हुँदा पनि सार्वजनिक गर्दैनन्, उहाँकै नेतृत्वमा सुशासन आयोग । विचार गर्न भन्छु एकचोटी,’– उनले भने ।
साथै, कर्मचारी, शिक्षक, डाक्टरलगायतलाई आफ्नो कन्ट्रोलमा राख्न नसक्ने प्रधानमन्त्रीले सुशासनको कुरा गर्न नसुहाउने उनको भनाइ छ । अहिले शिक्षक, निजामति कर्मचारी, डाक्टरलगायत आन्दोलनमा रहेको र उनीहरुलाई प्रधानमन्त्री ओलीले सम्हाल्नै नसकेको नेता साहको आरोप छ । नेता साहले प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको सुशान आयोगको कानुनी हैसियतमाथि पनि प्रश्न उठाए ।
उनले भने, ‘प्रधानमन्त्रीजीले कानुन मान्नुहून्न । कानुनविपरीत संसदीय संयन्त्रको अभ्यास गरिरहनु भएको छ । यस्तो अवस्थामा सुशासन आयोगको औचित्य के हुन्छ ? अख्तियारको कानुन आफैं रोकेर राख्ने, यस्तो अवस्थामा सुशासन आयोगको नेतृत्व गर्ने ? कसले पत्याउँछ ?’
प्रधानमन्त्री ओलीले जनतालाई झुक्याउने, ठग्ने र गुमराहमा राख्ने कार्य गरिरहेको र यस्तो प्रकारको कार्य आफूहरुलाई स्वीकार्य नरहेको नेता साहले बताए । राजतन्त्रको बेलामा शाही आयोग गठन भएको स्मरण गराउँदै उनले अहिले प्रधानमन्त्रीको नेतृत्वमा बनेको आयोगको लक्ष्य के हो भन्दै प्रश्न गरे । ‘अहिलेको आयोग औचित्य के छ ? उहाँले आयोग बनाइसकेपछि त्यो आयोगले के निर्णय गर्छ ? त्यो निर्णय कसरी कार्यान्वयन हुन्छ ? यसको सपोर्टमा कानुन नभएपछि कानुनी औचित्यविहीन आयोग के हो भनेर प्रश्न आउँछ,’– उनले भने ।
नेता साहले विद्या भट्टराईबाट सिकेर काम गर्न नसक्दा राजीनामा दिन उपयुक्त हुने प्रधानमन्त्री अोलीलाई सुझाव दिए ।




प्रतिक्रिया