देवेन्द्र कँडेलद्वारा पहलगाममा आतंकवादी हमलाको निन्दा, आतंककारीलाई कारबाही हुनुपर्नेमा जोड


काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका प्रभवशाली नेता तथा पूर्वमन्त्री देवेन्द्र कँडेलले भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा गरेका छन् । उनले आतंकवादलाई कसैले पनि प्रश्रय दिन नहुने बताए ।

आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आतंककारीलाई नेपालमा भए उनीहरुलाई संरक्षण दिन नहुनेतर्फ सचेत हुन आग्रह गरेका छन् । उनले नेपालको भूमि कसैको विरुद्धमा प्रयोग गर्न दिन नहुने बताए ।

उनले भारतसँग नेपालको खुला सिमाना र खुला आवातजावात भएकोले भारतसँग नेपालले सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए । उनले पहलगाममा भएको हत्यामा संलग्न आतंककारीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने बताए । उनले आतंककारीलाई कारबाही गर्ने सवालमा भारत कडाईका साथमा उत्रिएको भन्दै नेपाललेपनि त्यसको लागि भूमिका खेल्नुपर्ने बताए ।