नीति तथा कार्यक्रममै समेटियो संविधान संशोधनको विषय


काठमाडौं, १९ बैशाख । सरकारले वार्षिक नीति तथा कार्यक्रममै संविधान संशोधन गर्ने विषय समेटेको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २०७२ सालमा जारी भएको संविधान समीक्षा गर्दै कार्यान्वयनको क्रममा देखिएका कमजोरी सच्याउँदै जाने बताएका हुन् । सो क्रममा उनले सहमतिकै आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने स्पष्ट पारे ।

यस्तै, सरकारले नेपाल वायु सेवा निगमको पूनः संरचना गर्ने घोषणा गरेको छ । उनले भने,‘नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्थापनको लागि बनेको विद्येयक तथा नेपाल नागरिक उड्ययन प्राधिकरणसम्बन्धी कानूनलाई, संशोधन र एकीकृत गर्न बनेको विद्येयकलाई संसद्को यसै अधिवेशनबाट पारित गरिनेछ ।’ श्रमलाई सम्मान गर्ने परिपाटी गरिने सरकारको घोषणा छ ।

त्यस्तै, संस्थागत र सामूदायिक विद्यालयका पाठ्यक्रममा एकरुपता ल्याउने पनि सरकारको घोषणा छ । ई–लर्निङलाई पनि सरकारले प्रोत्साहन गरेको छ ।