काठमाडौं, २० बैशाख । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेता तथा सांसद डा. शेखर कोइरालाले कांग्रेससम्मिलित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन् । सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको र भ्रष्टाचार पनि नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै उनले सरकार असफल भएको बताएका हुन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज (शनिबार) कावासोतीमा सम्बोधन गर्दै उनले यस्ते दाबी गरेका हुन् ।
कोइरालाले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदै गर्दा गरिएको ७ बुँदे सहमतिपनि कार्यान्वयन नभएकोमा प्रश्न उठाए । उनले भने,‘दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्दा संविधान संशोधन, सुशासन, भ्रष्टाचारमुक्त लगायतका ७ बुँदे सहमति गरिएको थियो । त्यसमा सरकार पूरै असफल भएको छ ।’
उनले सरकारलाई सही दिशामा डोर्याउने जिम्मा प्रधानमन्त्री भएको नाताले एमालेले लिनुपर्नेमा जोड दिए । उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्न ढिलाई भएको विषयलाई लिएर यस्तो पाराले सरकारले सुशासन दिन नसक्ने भन्दै प्रश्न उठाएका छन् । सो क्रममा उनले कांग्रेसको महाधिवेशन समयमै गर्नुपर्ने र सार्न नहुने मत राखे । पछिल्लो समय नेता कोइरालाले सरकारको आलोचना गरिरहेका छन् । file photo




प्रतिक्रिया