काठमाडौं, २० बैशाख । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले सरकारले हिजो ल्याएको वार्षिक नीति तथा कार्यक्रमले देशलाई निकास दिन नसक्ने बताएका छन् । उनले नीति तथा कार्यक्रमलाई ‘गाई की त्रिशुल’ को संज्ञा दिए । यसअघिको नीति तथा कार्यक्रमले आयोजना बोलेको भएपनि यस वर्षको नीति तथा कार्यक्रमले राष्ट्रिय गौरवको आयोजना, प्रमुख आयोजना र राज्यले गर्नुपर्ने काम केही पनि उल्लेख नगरेको पौडेलको आरोप छ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको नीति तथा कार्यक्रमकेन्द्रित विशेष साक्षात्कारलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रमले बजेटलाई नै ठाउँ छोदिदिएको बताए । उनले नीति तथा कार्यक्रमले सखुी नेपाली र समृद्ध नेपाल बनाउने चित्रण प्रस्तुत गर्न नसकेको टिप्पणी गरे ।
उनले भने,‘विगतका कुरालाई नयाँ क्लेबरमा प्रस्तुत गरिएको छ । कांग्रेस र एमालेजस्तो ठूला दलले नेतृत्वले गरेको सरकारको नीति तथा कार्यक्रमले आशा भरेन । नीरश प्रकृतिको छ । समाजवादउन्मुख यात्रामा लैजाने प्रष्ट गर्दैन् । कतिपय कार्यक्रमको बारेमा स्रोत सुनिश्चितता गरिएको छैन् । नीति तथा कार्यक्रम दुई दिनमा सकिने सगरमाथा सम्वादको बारेमा पनि लेखिएको छ । योजनाबद्ध विकासको रुपमा यसले केही बोलेको छैन । नीति तथा कार्यक्रमले न छेउ बोलेको छ, न टुप्पो ।’
उनले पूराना केही योजनाहरु निरन्तरता दिईएको भन्दै पढ्दै कमाउने कुरा स्मरण गराए । तर, स्वास्थ्यसम्बन्धी कार्यक्रम सकारात्मक रहेको उनको भनाई छ । अरु मन्त्रालयका कार्यक्रम अन्धकारमा ल्याईएको भन्दै यो वर्षको नीति तथा कार्यक्रम नै निरस र पट्यारलाग्दो रहेको पौडेलको टिप्पणी छ । उनले भने,‘भ्रष्टाचार नियन्त्रण र सम्पत्ति शुद्धिकरणको लागि कुनै कार्यक्रम नै छैन् । आयोजनाको चित्र स्पष्ट छैन् ।’




प्रतिक्रिया