काठमाडौँ, २१ वैशाख । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले संस्कृतिको संरक्षणका लागि संस्कृत भाषा बचाउनुपर्नेमा जोड दिएका छन् ।
छहारी युवा क्लबले कान्ति भैरव गुरुकुल उत्तरबाहिनी गोकर्णमा आज आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले संस्कृत भाषाबिना नेपालमा प्रचलित कुनै पनि समुदायको संस्कृति संरक्षण हुननसक्ने धारणा राख्दै संस्कृत भाषाको संरक्षण पहिलो प्राथमिकता रहेको बताए ।
मन्त्री ठकुरीले क्लबका तर्फबाट गुरुकुललाई रु ५१ हजार १११ पुरस्कार स्वरुप प्रदान गरेका थिए । कार्यक्रमा वेद विषयका विद्वान् तथा कान्ति भैरव गुरुकुलका संस्थापक अध्यक्ष प्राडा ऋषिराम पोखरेललाई अभिनन्दन गरिएको थियो ।
गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले गुरुकूल शिक्षालाई संरक्षण र प्रवरेद्धन गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाले गुरुकुललाई आवश्यकताका आधारमा सहयोग गरिरहेको बताए ।
कार्यक्रममा कविद्वय बाजुराम पौडेल र मधुसुदन पराजुलीले कविता प्रस्तुत गरे । सम्मानित व्यक्तित्व पोखरेलले संस्कार र संस्कृतिको संरक्षणका लागि गुरुकुल स्थापना गरिएको बताए । कार्यक्रममा प्रतिष्ठा नामक संस्कृत नाटकमा प्रमुख भूमिका निर्वाह गर्ने सर्वाणी पराजुलीलाई १० हजार र कदरपत्रसहित गुरुकुलले सम्मान गरेको थियो । रासस




प्रतिक्रिया