नेपाल आतङ्कवादको विरुद्धमा र शान्तिपूर्ण विश्वव्यवस्थाको पक्षमा उभिन्छः एमाले नेता डा.भट्टराई (भिडिओसहित)


काठमाडौं, २६ वैशाख । नेकपा (एमाले) बागमती प्रदेशका इन्चार्ज तथा विदेश मामलाका जानकार डा.राजन भट्टराईले नेपाल सरकार र आफ्नो दल आतङ्कवादको विरुद्धमा रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालले आतङ्कवादी गतिविधिको भर्त्सना र विरोध गर्ने बताएका हुन् । नेपाल शान्तिपूर्ण विश्वव्यवस्थाको पक्षमा रहेको बताए ।

‘हामी आतङ्कवादी गतिविधिको विरुद्धमा छौं । भारतीय भूमिमाथि भएका त्यस्ता गतिविधिहरुको हामी घोर निन्दा, भर्त्सना गर्छौं र विरोध गर्छौं । शान्तिपूर्ण विश्वव्यवस्थाको पक्षमा छौं । संवादद्वारा समस्याको हल गरौं भन्ने पक्षमा छौं । हामीले पाकिस्तानलाई साथ दिएका छैनौं । भारतको आतङ्कवाद विरोधी कदममा ऐक्यवद्धता जनाएका छौं । आतङ्कवादको विरोध गर्नुपर्छ । निहत्था जनता मारिएको कुराको हाम्रो ऐक्यवद्धता छ भनिसकेका छौं,’– उनले भने ।

नेता भट्टराईले नेपालले परराष्ट्र नीतिमा असंलग्नताको सिद्धान्त अबलम्बन गर्ने बताए । उनले आतङ्कवादको विरुद्धमा र विश्व शान्तिको पक्षमा उभिने नेपालले द्वन्द्वरत कुनै पनि मुलुकको पक्ष नलिने बताए । नेता भट्टराईले नेपालले जहिले पनि द्वन्द्वरत पक्षहरुलाई वार्ताको लागि आग्रह गर्ने बताए ।

‘हामी आतङ्कवादको विरुद्धमा बोल्ने कुरामा कुनै दुविधा छैन । घटेका घटनामा हरेको प्रतिक्रिया दिने कुरा हामीले गर्दैनौं । नेपाल शान्तिको पक्षमा छ । असंलग्नताको सिद्धान्तको पक्षमा उभिएको नेपाल उसको आधारभूत विदेश नीतिका केही पक्षहरु छन् । आतङ्कवादको विरोध त हामीले गरिसक्यौं । हामी शान्तिको पक्षमा छौं भारत कि पाकिस्तानको पक्षमा भन्ने नै होइन । भारत र पाकिस्तानको द्वन्द्व भयो भने हामीले जहिले पनि द्वन्द्व घटाउनुस्, संवादको लागि टेबलमा बस्नुस् भन्छौं,’– उनले भने ।