जनार्दनलक्षित प्रचण्डको टिप्पणीः म त आइलागेर मोटो मशालको महासचिव बनेको थिएँ, अहिले कसैलाई रहर लागेको छ भने हतार नगर्नु


काठमाडौं, २७ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको महामन्त्री बन्न हतार नगर्न नेताहरुलाई सुझाव दिएका छन् । आज (शनिबार) निर्मल लामाको स्मृति दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू तत्कालीन समयमा आइलागेर मोटो मसालको महासचिव (महामन्त्री) बनेको र अहिले कसैलाई बन्छु भन्ने लागेको छ भने हतार गर्न आवश्यक नरहेको बताएका हुन् । उनले तत्कालीन अवस्थामा मोहन वैद्य ‘किरण’ ले आफूलाई महामन्त्री बन्न भन्दा पनि आफूले नमानेको उनले स्मरण गराए । पार्टी विभाजन भएर मोटो मसाल, पातलो मसाललगायत तीन टुक्रा भएपछि आफू एउटा समूहको महामन्त्री बनेको उनले बताए ।

माओवादी केन्द्रमा पनि महासचिव (महामन्त्री) बन्नका लागि अघिल्लो महाधिवेशनमा नेताहरुले तछाडमछाड गरेका थिए । अहिले उपमहासचिव रहेका वर्षमान पुन र जनार्दन शर्मा दुवैले महासचिवको दाबी नछाडेपछि अन्नतः उछिट्टिएर देवप्रसाद गुरुङको भागमा परेको थियो । महासचिव नबनाएको भन्दै अहिले पनि प्रचण्डसँग जनार्दनको सम्बन्ध सुमधुर हुन सकेको छैन । जनार्दनले कतिपय ठाउँमा पार्टी नेतृत्वको कडा टिप्पणी गर्दै आइरहेका छन् । उनले पार्टी विभाजनको अभ्याससमेत गरेको भनेर गाइँगुइँसमेत चल्ने गरेको थियो ।

तिनै जनार्दनलक्षित गर्दै प्रचण्डले भने, ‘पार्टी विभाजन भयो । मोटा मसाल, पातलो मसाल, चौथो महाधिवेशन भनेर तीनवटा समूह बने । गर्दै जाँदा म एउटा समूहको मोटो मसालको महासचिव अर्थात् महामन्त्री बन्ने अवस्था आइलाग्यो । मैले रोक्न खोज्दाखोज्दै बनेको हो है । कोही साथीहरुलाई हतारो छ भने हतारो नगर्नुहोला । हाम्रो किरणजी हुनुहुन्थ्यो महामन्त्री । किरणजीले मलाई अब तँ महामन्त्री हुनुपर्छ भनेर एक दुई वर्ष अगाडिदेखि भनिराख्नु हुन्थ्यो । मैले तपाईँ नै ठीक छ, म युवक संघमा पनि छु्, पार्टीको पोलिटव्यूरोमा ठीक छु भन्ने गर्थेँ र दुई वर्ष जति त मैले धेकेलेँ । तर, सेक्टर काण्ड भन्ने तपाईँहरुलाई थाहा होला । सेक्टर काण्ड परिघटनाले गर्दा म महामन्त्री हुनैपर्ने, म महामन्त्री हुन्छु भनेर बनेको जस्तो लाग्छ होला कतिपय साथीहरुलाई । तर, विल्कूल होईन । म हुन्न, हुन्न भन्दाभन्दै आइलाग्यो मलाई महामन्त्री ।’ File Photo/RN