काठमाडौं, २७ बैशाख । भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्वगभर्नर भगतसिंह कोश्यारीले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै अझै सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल भ्रमणको क्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलासँगको भेटवार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।
अहिले भारत आतंकवादविरुद्धको लडाईंमा होमिएको र यसमा सफलता प्राप्त गर्ने पनि उनले विश्वास दिलाए । नेपाल सरकार, नेपालका राजनीतिक दल र यहाँका शीर्ष नेताहरुले आतंकवादविरुद्धको भारतीय कदमको समर्थन गरेकापनि उनले सुनाए ।
काठमाडौं बसाईको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता डा. शेखर कोइरालालगायतका नेताहरुसँग भेट गरेका थिए ।
यसपटक कोश्यारी पण्डित दिनबन्धु पोखरेलको धार्मिक निम्तालुको रुपमा काठमाडौं आएका हुन् । उनी आजै स्वदेश फर्किएका छन् । नेपाल र भारत सरकारको संयुक्त पहलमा गठित नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी) को भारततर्फका तत्कालिन संयोजकसमेत रहेका कोश्यारीलाई भारतमा नेपाल मामिलाका जानकारको रुपमा चिनिन्छ ।




प्रतिक्रिया