काठमाडौं, २ जेठ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाल अहिले भिख माग्ने देश भएको टिप्पणी गरे । उनले भने,‘हाम्रो मुलुक त भिख मग्गा छ, जहाँपनि भिख माग्ने भाँडो लिएर हिँडेका छौं । नोकर र चाकर बनाउनको लागि संसाभरि कामदार पठाएका छौं । हाम्रो ईज्जत के रहन्छ ?’ सगरमाथा सम्वादमा उच्चस्तरीय प्रतिनिधित्व नभएको विषयमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘यो हाम्रो सगरमाथा सम्वादको अर्थ नै भएन । किनभने हाम्रो मुलुकको अर्थ भएन । सबैले हामीलाई रद्दीको टोकरीमा फ्याँकिसके । त्यो हामीले बुझ्नुपर्छ । हाम्रो मुलुकलाई केही ईज्जत छैन् । हामीले पनि कहीँपनि हाम्रो देशको ईज्जत राखेनौं ।’
डा. दिक्षितले आतंकवादलाई प्रश्रय दिने देशलाई बन्द गर्नुपर्ने बताए । उनले भने,‘अब यो सोझो कुरा छ, यसमा कुरा लुकाउने काम छैन । काश्मिरको आतंकवादमा पाकिस्तानको हात छ । एक सय प्रतिशत हात छ भन्ने कुरा हामी संसारलाई थाहा छ । अस्ति पहलगाममा जे अन्याय र अत्याचार भएको छ, त्यसमा डेफिनेट्ली पाकिस्तानको हात छ । हामीले मान्नेपर्छ । हामी त नन एलाईन भन्ने कुरा छैन् । पाकिस्तानले आतंकवादलाई प्रोत्साहन दिनुभएन । त्यसो गर्न सकियो भने भारत र पाकिस्तानबीच मित्रता जोडिन्छ ।’ पाकिस्तानले तत्काल आतंकवादलाई प्रश्रय दिने काम बन्द गर्नुपर्ने उनको सुझाव छ ।
उनले अहिलेको कांग्रेस–एमाले सरकारप्रति जनताको विश्वास नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सी छोड्नसमेत दिक्षितको आग्रह छ । उनले प्रधानमन्त्री ओलीले झुटमाथि झुट बोलेको पनि आरोप लगाए । राष्ट्र बैंकको गभर्नरमा आफ्नो क्याण्डिेट नभएको भनेर ओलीले भनेको विषयलाई दिक्षितले झुटको संज्ञा दिएका हुन् ।
उनले भने,‘केपी ओलीको क्याण्डिेट नहोला र ? झुटमाथि झुट, त्यसमाथि म काम गर्न सक्दिनँ भनेर मञ्चबाट डाईरेक्ट्ली बोलेको त मैले सुनेको छु, त्यसो भयो छोड बाबा, तिमी बरु काम गर्नसक्ने मान्छेलाई देउ । पैसा पनि खानु, मोजमस्तीपनि गर्नु, कम्बाईनमा पनि चल्नु, अब तिमी कांग्रेससँग सन्तुष्ट छैनौं भने छोड । तिमीले प्रधानमन्त्री पद त छोड्नुपर्यो । म सक्दिनँ भनेपछि तिमीलाई बस्ने अधिकार नै छैन । यस्ता यस्ता थोत्रा मान्छे भएपछि देश कसरी चल्छ ?’
उनले कुनैपनि नियुक्तीमा मेरिटोक्रेसी लागु नगरिएको आरोप लगाए । उनले भने,‘तर ओलीजी झुट बोल्दै हुनुहुन्छ, यस्तो झुट बोल्ने प्रधानमन्त्री, त्यसमाथि काम गर्न सक्दिनँ भन्ने प्रधानमन्त्री, के नाक मुखले यो मान्छेले काम गरेको छ ? भन्नुहोस त मलाई । अनि मुलुक कसरी चल्छ ? प्रधानमन्त्री त्यस्तो भएपछि कसरी मुलुक चल्छ ?’ उनले विपक्षी दलका नेता पुष्पकमल दाहालको अभियानलाई पनि जनताले नपत्याउने टिप्पणी गरे । तीन तीन पटक प्रधानमन्त्री हुँदापनि प्रचण्डले केही गर्न नसकेको र छोडेपछि मैले यसो गर्न खोजेको थिएँ भनेर भनेकोमा पनि उनले आलोचना गरे ।
उनले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको र मुलुक बर्बाद भएको टिप्पणी गरे । उनले मुलुक अहिले बिकाउको अवस्थामा रहेको सनसनीपूर्ण अभिव्यक्ति दिए । उनले भने,‘यिनीहरुले मुलुक पैसामा बेचिसके । मुलुक टुक्रा टुक्रा भैसकेछ।’




प्रतिक्रिया