नाउपा सुदूरपश्चिमको भाँडभैलोः रामेश्वरलाई मन्त्री नबनाउन खुशीरामको पत्र, घनश्याममाथि अनुशासनको डण्डा बर्साउन माग


काठमाडौं, २ जेठ । सुदूरपश्चिम प्रदेशसभाको मन्त्री बनाउने विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो सुरु भएको छ । नाउपाबाट सुदूरपश्चिम सरकारमा सहभागी वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीको अडियो काण्ड बाहिरिएपछि उनले राजीनामा दिएका थिए । गत चैत १६ गते लक्ष्मणकिशोरले राजीनामा दिएको भएपनि नाउपाले आजसम्म मन्त्री सिफारिस गर्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेशसभामा नाउपाका ७ जना सदस्य छन् । नाउपा सुदूरपश्चिम संसदीय दलले मन्त्री छान्न नसकेपछि केन्द्रलाई जिम्मेवारी दिइएको थियो । केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन प्रदेश संसदीय दलको कार्यालयलाई सिफारिस गरिन् । तर, त्यसको भोलिपल्ट प्रदेश संसदीय दलको बैठक बस्यो । उक्त बैठकले संसदीय दलका नेता घनश्‍याम चौधरीलाई मन्त्री सिफारिस गर्यो ।

प्रदेश संसदीय दलको बहुमतले मन्त्री सिफारिस गरे पनि घनश्यामले आफू मन्त्री नबन्ने भन्दै रामेश्‍वर चौधरीलाई मन्त्री सिफारिस गरी मुख्यमन्त्रीको कार्यालयलाई पत्र लेखे । घनश्यामले रामेश्वरलाई मन्त्री सिफारिस गरी लेखेको पत्रमा अर्का सांसद खुशीराम डगौरा थारुले आपत्ति जनाएका छन् । उनले मुख्यमन्त्रीलाई पत्र लेखेरै रामेश्वरलाई मन्त्री बनाउने निर्णय संसदीय दलबाट नभएको जानकारी गराएका छन् ।

त्यस्तै डगौरा थारुले पार्टी अनुशासन समिति संयोजकलाई पत्र लेख्दै बैठकमा निर्णय नै नभएको मान्छेलाई मन्त्री बनाउन भनेर चिठी लेखेर दलको नेता घनश्यामले गम्भीर प्रकारको त्रुटी गरेको बताएका छन् । उनले घनश्याममाथि छानविन गरी कारबाहीको मागसमेत गरेका छन् ।