काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकार ढल्ने वा चल्ने भन्ने मामला आफूहरुका निर्भर नरहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार ढल्ने र नयाँ बन्ने कुरा सरकारमा रहेका दलहरुबीच हुने विषय रहेको बताएका हुन् । आफूहरु प्रतिपक्षमा रहेको हुनाले उनीहरुको आन्तरिक विषयमा चासो नदेखाएको बताए ।
‘उहाँहरुको काम कारबाहीहरु बेठीक ढंगले गइरहेको छ । सच्याउनुपर्छ भन्ने हाम्रो आग्रह हो । सरकारको कुरा उहाँहरुको हो । बहुमत पुर्याएर सरकार गठन गर्नुभएको छ । बेठीक ढंगले सरकार बनाए पनि अहिले भत्किने र भत्काउने भन्दा पनि राष्ट्रियता, डेमोक्रेशीको रक्षा, सुशासन, सामाजिक न्यायासहितको विकास निर्माणलगायतको बारेमा हामी केन्द्रीत छौं,’– उनले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेको बताए । असफल भए पनि प्रधानमन्त्री ओलीले जबरजस्ती रुपमा सरकार चलाइरहेको उनले बताए । असफल भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिने वा नदिने र सत्तारुढ दल कांग्रेसले साथ छाड्ने वा नछाड्ने भन्ने कुरा उनीहरुको आन्तरिक विषय रहेको उनले बताए ।
‘सरकार त असफल भइराखेकै छ । प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने भन्ने उहाँको कुरा हो । असफल भएता पनि जबरजस्ती चलाइरहनुभएको छ । सह–घटकको रुपमा रहेको कांग्रेसले साथ दिने कि नदिने भन्ने कुरा हो । उहाँहरुले साथ दिइरहुभएको छ । हामीले त विषयवस्तु उठान गर्दिएको कुरा हो,’– उनले भने ।




प्रतिक्रिया