पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न विशेष संवाद अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै थापाले आन्तरिक प्रतिस्पर्धापछि उत्पन्न तिक्तता अन्त्य गरी सबैलाई समेटेर अघि बढ्नुपर्ने बताए ।
‘पार्टीभित्रको प्रतिस्पर्धालाई आम चुनावजस्तो जित्नेले सबै जित्यो र हार्ने बाहिरियो भन्ने रूपमा लिनुहुँदैन,’ उनले भने, ‘जित्नेले हस्तिनापुर पाएको र हार्नेचाहिँ सकियो भन्ने सोच गलत हो । पार्टीभित्र त सबैले स्पेस पाउनुपर्छ ।’
उनले पार्टीभित्र सम्बन्धमा रहेको कटुता हटाउनुपर्नेमा जोड दिए । ‘बरु बाहिरको मान्छेलाई सहन सक्ने, आफ्नै पार्टीभित्रको साथीलाई सहन नसक्ने, सँगै बस्न र सोच्न नसक्ने यो परिपाटीलाई हामीले पूर्ण रूपमा बदल्नुपर्छ,’ उनले भने ।
थापाले पछिल्ला निर्वाचनमा कांग्रेसबाट टाढिएका दुई लाखभन्दा बढी परम्परागत मतदाता र तिनका परिवारसँग संवाद गर्न मंसिर महिनाभर देशभरका वडा तथा टोलमा अभियान सञ्चालन गर्न प्रस्ताव गरे ।
‘हामी उसको घरमै जानुपर्छ, भेट्नुपर्छ र उसका कुरा सुन्नुपर्छ । उसले कांग्रेस छोड्नुको गुनासो सुन्ने र उसका प्रत्येक प्रश्नको जवाफ दिने तागत आजको कांग्रेसले राख्छ,’ उनले भने ।
कांग्रेसले विगतका कमजोरी स्वीकार गर्दै सुशासन र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने थापाको भनाइ थियो । ‘हामी कमजोरीबाट भाग्दैनौँ, स्वीकार्छौँ । अब हामी डेमोक्रेसी पनि जोगाउँछौँ र डेलिभरी पनि दिन्छौँ,’ उनले भने ।सँगै अघि बढाउने बताए ।




प्रतिक्रिया