कांग्रेस-एमालेमा दरार देखियो, दुवैले आ-आफ्नो गठबन्धन बनाउन सक्छन्ः झलनाथ खनाल


काठमाडौं, ६ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कांग्रेस–एमालेसहितको गठबन्धन सरकारले आफ्नो औचित्यता पुष्टि गर्न नसकेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार र कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमतिको औचित्यता पुष्टि नभएको बताएका हुन् ।

‘अहिलेको गठबन्धनले आफ्नो औचित्य पनि सावित गर्न सकेन । उसले जुन ७ बुँदे सहमति गरेर हामीले सरकार बनायौं भन्ने कुरा गर्यो, त्यो ७ बुँदेको औचित्य पनि सावित गर्न सकेन । ती ७ बुँदे के हुन् भन्ने जनतालाई जानकारी गराउन पनि सकेन । लिखित दस्तावेज भनेको थियो । आजसम्म जनताले त्यो लिखित दस्तावेज हेर्न पनि पाएनन् । सत्तामा बसेर समय कटाउनेमात्रै हो भने त्यो भिन्दै कुरा भयो । उनीहरु संख्याको हिसाबले ठूलै शक्ति छ । तर, नीति, कार्यक्रम र डेलिभरीको हिसाबले देशमा केही पनि हुन सकिरहेको देखिँदैन,’– उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले अहिले सत्तारुढ दल कांग्रेस–एमालेमा दरार बढ्दै गएको र दुवै दलले आ–आफ्नो गठबन्धन तयार गर्न सक्ने बताए । नेताहरुबीचको पछिल्लो भेटघाट एकले अर्कोलाई दवाब दिन भइरहेको नेता खनालको दाबी छ । जनताहरुले पनि सरकार ढल्छ कि भन्ने आशंका व्यक्त गर्न थालेको उनले बताए ।