माओवादीसँगै पार्टी एकता हुन्छ, प्रचण्डले आज भेट्न बोलाउनुभएको छः महिन्द्र राय यादव


काठमाडौं, ११ जेठ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले नेकपा (माओवादी केन्द्र) को आगामी महाधिवेशनबाट पार्टी एकता हुने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको कार्यकारिणी समितिको बैठक बसेर एकता गर्ने निर्णय भइसकेको बताए । माओवादीसँग पार्टीको सहकार्य अहिले पनि कायमै रहेको र एजेण्डा पनि मिल्ने उनले बताए ।

पार्टी एकताबारे छलफलका लागि आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल हुने बताए । ‘माओवादीसँग पत्राचार भएको छ, वार्तामै छु । समाजवादी मोर्चामा पनि छ्ु । माओवादीले महाधिवेशनबाट पार्टी एकता गरेर जाने कुरा गरेको छ । एकता हुन्छ माओवादीसँग । नेपाल समाजवादी पार्टीको कार्यकारिणी बैठक बस्यो । त्यसको बारेमा छलफल भयो । संस्थागत रुपमा पार्टी एकता गर्नुपर्छ भन्ने विचारमा तीन जनालाई जिम्मेवारी दिइयो ।’ उनले भने, ‘मैले नै गएर अध्यक्ष प्रचण्डसँग कुरा गरेँ । उहाँले आजको समय दिनुभएको छ । कति बजे भेट्ने भन्ने जानकारी हुन्छ । हामी जान्छौं उहाँसँग भेट्न । हामी महाधिवेशन गर्छौं, हाम्रा सबै मागहरु पूरा हुन्छन् भन्ने विश्वास छ,’–उनले भने ।