राजावादीलाई प्रधानमन्त्रीको प्रश्नः ‘हाम्रो राजा प्राणभन्दा प्यारो’ भन्नेहरु वीरेन्द्रलाई मार्दा किन मरेनन् ?


काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी समूहको आन्दोलनलाई निस्तेज पार्न तम्तयार अवस्थामा बस्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादीहरुले आन्दोलन गर्ने भनेको दिन जेठ १५ गते के–के गर्ने भन्ने कुरा पार्टीले पछि सर्कूलर गर्ने बताउँदै तयारी अवस्थामा रहन आग्रह गरे । उनले राजावादीहरुलाई नक्कली खाओवादीको संज्ञा दिए ।

‘यो १५ गते तथाकथित राजावादीहरु, यी राजावादी होइनन्, यी खाओवादी हुन् । यिनीहरु के भनेर नारा लगाउँथे ? हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ । हिजो बेलुका पनि नारायणहिटी अगाडि त्यही पो भन्दै रहेछन् । प्राणभन्दा प्यारो छ भने विरेन्द्रलाई त्यत्रो हत्याकाण्ड भएर मार्दाखेरी कहाँ गएका थिए, किन मरेनन् त ?’ प्रश्न गर्दै उनले भने ।

उनले राजावादी भनिएकाहरुलाई झुठा, बेइमान र चाप्लुसी कुरा गर्ने मण्डलेको संज्ञा दिए । उनीहरु कुनै महान उद्देश्यको लागि नलडेका र साना–साना स्वार्थका लागि उफ्रिरहेको उनले बताए । उनले राजवादीहरुलाई व्यङ्ग्य गर्दै अक्षता मन्छाएर भाग्ने पिसाचको संज्ञा दिए । ‘यी अक्षता मन्छाउनेहरु हुन्, ढ्याङ्ग्रो लिएर एमाले मैदानमा उत्रियो भनेदेखि यिनीहरु कुन दुलोमा पस्छन् थाहा छैन,’– ओलीले भने ।

उनले नेता तथा कार्यकर्तालाई आगामी १५ गतेको तयारी थाल्न आग्रह गरे । ५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रण हुनुपर्ने ओलीको निर्देशन छ ।