चैनपुरमा सशस्त्रका संस्थापक महानिरीक्षक श्रेष्ठको सालिक अनावरण


सङ्खुवासभा, जेठ १४ । सङ्खुवासभाको चैनपुरमा सशस्त्र प्रहरी बल नेपालका संस्थापक प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा उहाँकी धर्मपत्नी नुडुप श्रेष्ठको स्मृतिमा सङ्खुवासभाको चैनपुरमा सालिक अनावरण गरिएको छ ।

चैनपुर नगरपालिका( ६, जिरोप्वाईन्टमा सशस्त्र प्रहरी बल नेपालका संस्थापक प्रहरी महानिरीक्षक श्रेष्ठ र धर्मपत्नीको शालिक अनावरण गरिएको हो । उक्त शालिक नुडुप फाउण्डेसन र चैनपुर नगरपालिकाले संयुक्त रुपमा तयार पारेका हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार सालिक अनावरण गरेका हुन् । महानिरीक्षक अर्यालले श्रेष्ठ सरल, शान्त र निडर स्वभावको भएको सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले बताए।

स्वर्गीय प्रहरी महानिरीक्षक श्रेष्ठ योगदानका कारण सशस्त्र प्रहरी सङ्गठन अहिलेको अवस्थामा आइपुगेको प्रहरी महानिरीक्षक अर्यालले बताए । शालिक अनावरण क्रममा सशस्त्र प्रहरीको टोली सम्मानस्वरूप श्रद्दाञ्जली अर्पण गरेको थियो ।

अनावरण कार्यक्रम कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठान चैनपुरको आयोजनामा गरिएको हो । चैनपुर नगरपालिकाको साढे ६ लाख रुपैयाँमा लागत सहयोगमा सालिक निर्माण गरिएको हो ।

सशस्त्र प्रहरीका पहिलो महानिरीक्षक श्रेष्ठको २०५९ माघ १२ मा हत्या भएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सोमबार अरुण दल गुल्म ४ नम्बर बाहिनी चैनपुर र सशस्त्र प्रहरी सदरमुकाम सुरक्षा बेश क्याम मानेभञ्याङको समेत निरीक्षण गरेका छन्।

श्रेष्ठको नेतृत्वमा २०५८ मा सशस्त्र प्रहरी बलको स्थापना गरिएको थियो । श्रेष्ठ २०५७ माघ १९ गते सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा नियुक्त भएका थिए । २०५९ माघ १२ गते ललितपुरको बागडोलमा मर्निङवाकको क्रमामा उनी पत्नीसहित मारिएका थिए । उक्त घटनामा अंगरक्षक सई सूर्य रेग्मीको पनि ज्यान गएको थियो ।

शालिक अनावरण कार्यक्रममा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुबेरसिंह राना, सशस्त्रका पूर्वमहानिरीक्षक दुर्जकुमार राई, एआईजी बंशीराज दाहाल, पूर्वप्रहरी अधिकृतहरु, चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङ, उपप्रमुख एलिना श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेल, सशस्त्र प्रहरी नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति डीआईजी कुमार न्यौपानेसहितको उपस्थिति थियो ।