ठाकुरबाबा (बर्दिया), १५ जेठ । बढैयाताल गाउँपालिका–७ फूलपुरका किसान इश्वरीप्रसाद थारुले बेमौसमी तरकारीखेतीबाट वार्षिक १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।
असोजदेखि जेठसम्म चार बिघाह जमिनमा आधुनिक प्रविधिमार्फत बेमौसमी तरकारीखेती गरेर उनले वार्षिक आठ लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका हुन् ।
सरसठ्ठी वर्षीय थारु २०४६ सालदेखि कृषि पेसामा सक्रिय छन् । उनले परम्परागत शैलीलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्दै बेमौसमी तरकारी उत्पादन गर्दै आएका हुन्। उत्पादन भएका माटर, काउली, बन्दा, काँक्रा, फर्सी, तरबुजा, लौकालगायत बेमौसमी तरकारी स्थानीय बजारमा महँगोमा बिक्री हुने भएकाले आम्दानी प्रशस्त भइरहेको उनले बताए ।
थारुले जैविक मल, प्लास्टिक मल्चिङ प्रविधि, उन्नत बीउ र कृषि शाखाबाट प्राप्त प्राविधिक सहयोगमार्फत उत्पादन बढाउँदै आएका बताए । “व्यापारीहरू बारीमा आउँछन् र थोकमा किनेर लैजानन्छन् । यसले बजारीकरणको समस्या पनि छैन”, उनले भने ।
उमेर होइन, आत्मविश्वास महत्त्वपूर्ण विषय भएकाले काम गर्न सधैँ उत्साहित हुने थारुको भनाइ छ । “सरकारले थप तालिम, अनुदान र औजार उपलब्ध गराए कृषि पेसाप्रति किसानको आकर्षण बढ्ने छ”, उनले भने । रासस




प्रतिक्रिया