गीतकार टेक तामाङको नयाँ गीत ‘तिम्रो मनको’ सार्वजनिक, अन्जु पन्त र निशान भट्टराईको स्वर


काठमाडौं, २० जेठ । गीतकार एवं नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) टेक तामाङको शब्दमा तयार पारिएको नयाँ गीत ‘तिम्रो मनको’ सार्वजनिक गरिएको छ। गीतमा चर्चित गायिका अन्जु पन्त र गायक निशान भट्टराईको सुमधुर स्वर रहेको छ भने संगीत संयोजन लोकप्रिय संगीतकार अर्जुन पोखरेलले गरेका छन्।

प्रेमभावमा आधारित यस गीतको म्युजिक भिडियोमा दिनेश बिष्ट र रिचा थापाको अभिनय देख्न सकिन्छ। आकर्षक छायांकन र सम्पादनसहित तयार पारिएको भिडियोलाई प्रेम कथा र भावनात्मक प्रस्तुतीले जीवन्त बनाएको छ। टेक तामाङले लेखेका सरल, भावपूर्ण र अर्थपूर्ण शब्दहरूले गीतमा विशेष गहिराइ थपेका छन्।

सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक गर्दै तामाङले दर्शक–श्रोतासँग सुझाव, सल्लाह र प्रतिक्रिया दिन आग्रह गरेका छन्। उनले सुरक्षा सेवाको जिम्मेवारीसँगै साहित्य, संगीत र सिर्जनामा देखाएको सक्रियता प्रशंसनीय छ।

‘तिम्रो मनको’ बोलको गीत Tektamangofficial नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतले छोटो समयमा नै श्रोता तथा दर्शकहरूको सकारात्मक प्रतिक्रिया बटुल्दैछ।

गीतकार तामाङले यसअघि ‘नजिक भएर पनि’, ‘तिमीलाई माया गर्छ’, ‘आमा’, ‘जीवनसाथी’, ‘माया गरेर हेर’, ‘मै खुकुरी अघिसरी’ जस्ता आधुनिक, राष्ट्रिय तथा सेलो शैलीका गरी ४५० भन्दा बढी गीत सार्वजनिक गरिसकेका छन्।