पारदर्शी सेवा प्रवाह गर्दै सुशासन प्रवर्द्धन गर्न ईलाका प्रशासन कार्यालय लहान सक्रिय, दुई बिचौलिया पक्राउ


सिरहा,२१ जेठ । ईलाका प्रशासन कार्यालय लहान, सिरहाले सेवा प्रवाहमा देखिँदै आएको ढिलाइ, सुस्ती र अनियमितता नियन्त्रण गर्न सक्रिय पहल थालेको छ। पारदर्शी र छरितो सेवा प्रवाहमार्फत सुशासन कायम गर्ने उद्देश्यले कार्यालयले सुधारात्मक कदमहरू अघि बढाएको हो।

कार्यालयले सेवा प्रवाहमा बाधा पुर्‍याउने र कर्मचारीको बदनामी हुने गरी गैरकानुनी गतिविधिमा संलग्न दुई जना बिचौलियालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका बिचौलियालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय, लहानमा पठाइएको जनाइएको छ।

कार्यालयले सेवाग्राहीहरूलाई तोकिएको राजस्वबाहेक कुनै पनि अतिरिक्त रकम नतिर्न आग्रह गरेको छ। ‘काम मिलाइदिन्छु’ भन्दै अतिरिक्त रकम माग्ने वा सेवा दिलाउने बहानामा रकम लिने जो-कोहीलाई कानूनी कारबाही गरिने चेतावनी पनि दिइएको छ। यस्ता गतिविधि देखेमा तुरुन्त सम्पर्क गर्न कार्यालयले कार्यालय प्रमुख ९८५२८३३२६६,
शाखा अधिकृत ९८५२८३३२६७ र सूचना अधिकारी ९८५२८३१०७७ फोन नम्बरहरू सार्वजनिक गरेको छ ।

ईलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्ण राज सुयलले सबै सरोकारवालालाई सहयोगका लागि अपिल गर्दै अनियमितता अन्त्य गरी छिटो, छरितो र पारदर्शी सेवा प्रवाहमा कार्यालय प्रतिवद्ध रहेको बताए। उनले यस्ता गैरकानुनी गतिविधिलाई जरैदेखि उखेलेर फाल्ने र सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यालयको यस कदमलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्। उनीहरूले विगतमा बिचौलियाका कारण अनावश्यक झन्झट र आर्थिक भार बेहोर्नुपरेको गुनासो गर्दै आएका थिए। कार्यालयको यो पहलले सुशासन र पारदर्शिताको सन्देश दिएको उनीहरूको भनाइ छ।