काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले आजको प्रतिनिधिसभा बैठक चल्ने विश्वास व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदन खुलाउनको लागि पहल लिएको र आफूहरु त्यसमा प्रत्यक्ष इंगेज भएकोले आजको लागि बोलाईएको समयमा नै बैठक सुचारु हुने खतिवडाको दाबी छ ।
आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भिजिट भिसा प्रकरणमा अख्तियारले गरिरहेको छानबिनलाई विश्वास गर्नुपर्नेमा जोड दिए । उनले यस प्रकरणमा छानबिनबाट दोषी जो कोही भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
उनले आफूले रास्वपाका नेताहरुले पनि परिपक्व राजनीति गर्ने विश्वास लिएको बताए । उनले आफूहरु कानूनअनुसार नै चल्ने बताए । आफूहरु कसैलाई जोगाउने वा फसाउनेतर्फ नलाग्ने उनको स्पष्टीकरण छ । उनले अहिलेका गृहमन्त्री रमेश लेखक र तत्कालिन गृहमन्त्री रवि लामिछानेलाई तुलना गरेर राख्न नहुने बताए । दुवै जनाको फरक स्थिति र फरक प्रकृतिको मुद्दा थियो भन्ने उनको भनाई छ ।
उनले भिजिट भिसामा सबभन्दा बढि मान्छे रवि लामिछाने गृहमन्त्री हुँदा नै गएको दाबी गरे । उनले अहिले गृहमन्त्री रमेश लेखकलाई बलीको बोको बनाउनेगरि जान नहुने मत राखे । उनले भने,‘उहाँको अहिलेसम्म दोष देखिएको छैन् । उहाँले त्यो केसमा राजीनामा दिनुपर्छ भन्ने पक्षमा हामी पनि छैनौं ।’




प्रतिक्रिया