काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले सरकारले छरपष्ट छरेर बजेट ल्याएको बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले तीन करोडभन्दा तलका योजनालाई बजेट नछुट्याउने भनिएपनि सरकारले एक हजार रुपैयाको समेत आयोजनाहरु बनाएको बताएका हुन् । उनले एक हजार, १० हजार र १ लाखका कयौं योजनाहरु बनाएर सरकारले बजेट छरेको दाबी गरे । यस्तो प्रकारको गल्ती सच्याएर अगाडि बढ्न उनले सरकारलाई सुझाव दिए ।
‘अहिले बजेट ३ करोड होइन, एक हजारको छ । छरपष्ट छ, १ हजार शीर्षकको बजेट रहेको छ । सत्ता पक्षका माननीयज्यूहरु यो बारेमा बोल्नुहुन्छ कि हुँदैन । एक हजारको योजना छ्याप्छ्याप्ती छन् । एक हजारका, एक लाखको पनि होइन, १० हजारको र लाखको त कति छन् कति । यस्तो खालको हुनुभएन । सुधार गरौं । विगतमा भएका कमजोरी अहिलेको सरकारले नदोहोर्याओस्,’– उनले भने ।
उनले अहिले देशको अर्थतन्त्र ग्रे–लिस्टमा परेको स्मरण गराउँदै उनले वर्तमान सरकार एक्सनमा जान नसक्दा समस्या समाधान हुन नसकेको बताए । सन् २००८ मा ग्रे–लिस्टमा परेको देश सन् २०१४ मा बाहिर आएको र फेरि अहिले पनि अवस्था त्यही नै रहेको उनले बताए । एक वर्षभित्र देशलाई ग्रे–लिस्टबाट बाहिर निकाल्नुपर्ने अवस्थालाई सरकारले मध्यनजर गरेर बजेट ल्याउन नसकेको उनको दाबी छ । बजेटमा स्ुशासनको पक्ष कहीँकतै नदेखिएको उनको आरोप छ ।




प्रतिक्रिया