कोशी सरकारले किसानलाई ऋण अनुदान दिने, ब्याज पनि तिरिदिने


काठमाडौं, २ असार । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेश सरकारले क्षमताअनुसारको उपयुक्त बजेट ल्याएको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बहु वर्षीय सडक, सडक पुल, झोलुङ्गे पुल र भर्खरै लगानी सम्मेलन गरिएकाले त्यसको मर्मलाई समेटेर बजेट ल्याइएको बताएका हुन् । बजेटले कृषि र उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेको पनि उनले बताए । ‘सबै क्षेत्रलाई समेटेर हामीले बजेट निर्माण गरेका छौं,’– उनले भने ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट ल्याएको छ । कोशी सरकारले चालू तर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत तर्फ १७ अर्ब १० करोड विनियोजन गरेको पनि उनले बताए । वित्तीय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरिएको छ ।

कोशी प्रदेश नगदेवालीको क्षेत्र रहेको बताउँदै उनले ती चिजहरुको विदेश नियार्त र बजारीकरणलाई व्यवस्थित गर्नेगरी बजेट ल्याइएको उनले बताए । कृषि क्षेत्रमा मल, विउको समस्यालाई पनि मध्यनजर गरिएको थियो । कृषकहरुलाई दिँइदै आएको अनुदानमा अनियमितता भएको कारण अहिले अनुदान रोकिएको बताए । प्रदेश सरकारको समन्वयमा किसानहरुले तोकिएको बैंकबाट ऋण लिन सक्ने र त्यसको ब्याज प्रदेश सरकारले नै तिरिदिने व्यवस्था मिलाइएको उनले बताए ।

‘साधै अनुदान दिने प्रवृत्ति थियो । सधैं अनुदान खराब ढंगले जान्छ भन्ने आलोचना भएको हुनाले हामीले व्यवसाय गर्न चाहने, कृषिमा अगाडि बढ्न चाहने किसानहरुको निम्ति ऋण अनुदान भनेर हामीले तोकिदिएको बैंकबाट ऋण लानुहुन्छ र त्यसको ब्याज चाहीँ सरकारले तिरिदिने व्यवस्था मिलाएका छौं,’– उनले भने ।