‘अलविदा’ लेखेका डाक्टरले भेटे गृहमन्त्री, सुनाए आफूलाई परेको मर्का


काठमाडौं, ३ असार । रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.किशोर श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेटेर आफ्नो गुनासो सुनाएका छन् । आज (मंगलबार) गृहमन्त्री लेखकलाई भेटेर उनले आफू कांग्रेसी भएकै कारणले पेलाइमा परेको बताएका हुन् । डा.श्रेष्ठले हिजो सामाजिक सञ्जालमार्फत सबैसँग माफी माग्दै ‘अलविदा’ भनेर सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएको केही घण्टापछि प्रहरीले उनलाई बालाजुबाट उदार गरेको थियो ।

जागिरको क्रममा आफूलाई विभिन्न व्यक्तिहरुले दुःख दिएको कुरा उल्लेख गर्दै उनले गल्ती विनाको सजाय भोग्न बाध्य बनाइएको खु्लाएका थिए । उनले केही व्यक्तिहरुको नाम उल्लेख गर्र्दै आफूलाई आत्महत्या गर्न बाध्य बनाइएको उल्लेख गरेका थिए । उनले आफूलाई कांग्रेसी भएकै कारण तार्गेटमा राखिएको सुनाए । ‘बागमती प्रदेशको १३ वटा अस्पतालमध्ये म एउटा टार्गेटमा थिए । एमालेको मन्त्री, एमालेको सचिव सधैं टार्गेटमा नै थिएँ,’– उनले भने ।

साथै, उनले गृहमन्त्रीलाई एक दुई जना डाक्टरहरु निकै छाडा रहेको पनि सुनाए । आफ्नो कार्यकक्षमा नबस्ने, राजनीति गर्ने उनीहरुले गरिरहेको पहिलाको सांसदको छोरी (डेन्टल डाक्टर करार), ले दम्भ देखाउने, कार्यकक्षमा नबस्ने जस्तो गतिविधि गरिरहेको पनि उनले गृहमन्त्रीसँग गुनासो गरे । त्यस्तै, केदार कार्की (पूर्व वडाअध्यक्ष) ले चाहिँ गुण्डागर्दी गर्ने गरेको, मान्छे जागिरमा लगाइदे भनेर निकै दवाब र दुःख दिएको, अख्तियार लगाउँछु भनेर धम्क्याएको उनले सुनाए ।

‘केदार कार्की भन्ने गुण्डा त्यहाँको । …पैसा माग्ने । ऊ पहिला कांग्रेसबाट वडाअध्यक्ष जितेको पछिल्लो समय टिकट नपाएको । उसको काम नै गुण्डागर्दी गर्ने, जागिर छैन । उसले मलाई ५० हजार माग्यो । एक जना कार्यलय सहयोगी राखिदिनु भन्यो । मलाई यो मान्छे भर्ना गर्दिनस् भने अख्तियारमा मुद्दा हालिदिन्छु भन्यो,’– उनले भने ।

गृहमन्त्री लेखकले ती डाक्टरको समस्या सुनेलगत्तै रामेछापको सीडीओसँग सो विषय बुझेर आफूलाई जानकारी गराउन सचिवालयलाई निर्देशन दिए । ‘एक जना डाक्टरसाब केशव श्रेष्ठलाई प्रवलम भएको थियो नि । त्यहाँबाट के–के गरेर भगाए, टर्चर गरे भन्ने कुरा छ उहाँकोृ । त्यहाँको सीडीओलाई बुझेर रियल कुरा के हो जानकारी गराउ भन्नुस् त अहिले,’– निर्देशन दिँदै गृहमन्त्रीले भने ।