सरकारले कानूनअनुसार काम गरिरहेको छ, कसैले हल्ला गरेको भरमा हल्लिँदैनः मन्त्री अधिकारी


काठमाडौं, ४ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कुनै भूमाफियाले पनि आफूलाई प्रभावमा पार्न नसक्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैउनले आफूसँग भूमाफियाहरुले कहिल्यै पनि नभेटेको बताएका हुन् । उनले आफू आएपछि सरकारी जग्गा कहिले पनि दुरुपयोग नभएको उनले बताए । सरकारले नियमअनुसार काम गरिरहेको र कसैले हल्ला गरेको भरमा सरकार नहल्लिने उनले बताए । साथै, गिरीबन्धु टी स्टेट प्रकरणमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको कुनै संलग्नता नरहेको उनले बताए ।

‘प्रधानमन्त्री केपी ओलीले गिरीबन्धुको बारमा केही गर्नुभएको रहेछ भने म बहस गर्न तयार छु । ६० सालमा सूर्यबहादुर थापाले बेच्ने निर्णय गर्छन् । हल्लाको भरमा कुरा गरेर हुन्छ । गिरीबन्धुले टि स्टेटको निम्ति स्वीकृति लिएको छ जग्गा । त्योभन्दा बाहिर गयो भने स्वतः सरकारको नाममा जग्गा आउन्छ । अहिले टी स्टेट छ,’– उनले भने ।

साथै, भूमिसम्बन्धी विधेयक आफूले अगाडि बढाइरहेको उनले बताए । जनताको हितमा हुनेगरी विधेयकलाई अगाडि बढाइएको र एक इन्च तलमाथि नहुनेगरी काम गरिरहेको उनले बताए । मन्त्री अधिकारीले मधेशवादी दलहरुले आफ्नो स्वार्थ हेरेर यसअघि ल्याइएको अध्यादेशमा सहयोग नगरेको बताए । संविधानले दिएको प्रदत्त अधिकार कानुन बनाएर लागू गर्छौं भन्दाखेरी मधेशवादी दलहरुले आफ्नो स्वार्थानुकूल विरोध गरेको उनको दाबी छ ।

आफू मन्त्री भएपछि अहिलेसम्म नबनेको नापी निर्देशिका जारी गरिएको, भूमि निर्देशिका जारी भएको, सहकारी ऐन बनाएको, सहकारी समस्या समाधानका लागि प्राधिकरण बनाएको, सूचना केन्द्र लागू गर्नेगरी व्यवस्था गरिएको, कोष खडा गर्ने व्यवस्था गरिएको, न्यायाधिकरण अगाडि बढिरहेको, भूमी ऐन र नापी ऐन ड्राफ्ट भइसकेको उनले बताए ।