काठमाडौं, ४ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा दुई घण्टा लामो भेटवार्ता भएको छ । उनीहरुबीच हिजो (मंगलबार) दुई घण्टा छलफल गरेको एमाले नेता सूर्यबहादुर थापा क्षेत्रीले बताए । नेता थापाले एमालेलाई बढाउने, नेतृत्व स्थापित गर्ने र अगाडि बढ्ने विषयमा ओली र भण्डारीबीच छलफल भएको बताए ।
‘उहाँहरु दुई जना हिजो पनि बालुवाटारमा छलफल गर्नुभएको छ दुई घण्टा । राजनीतिक तहमा उहाँहरुको छलफल हुन्छन् । एमालेलाई कसरी अगाडि बढाउने भन्ने बारेमा आजको नेतृत्वलाई स्थापित गर्ने र अगाडि बढाउने कुरामा दुवैको उत्तिकै भूमिका छ,’– उनले भने ।
नेता थापाले भण्डारी र ओलीबीचमा केही मानिसहरुले फाटो ल्याउने कोशिस गरिरहेको पनि बताए । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेतृत्वमाथि प्रहार भइरहेको वर्तमान अवस्थामा सरकारलाई कसरी अगाडि बढाउने र कामयावी बनाउने भन्ने विषय ओली–भण्डारी दुवैलाई जानकारी रहेको पनि उनले बताए । ‘नेतृत्वलाई एकदमै घेराबन्दी गरिएको बेला, सरकारको नेतृत्व गरेको बेलामा नेतृत्वलाई कसरी अगाडि बढाउनुपर्छ, सरकारलाई कसरी सफल बनाउनुपर्छ, यो गठबन्धनलाई कसरी कामयावी बनाउनुपर्छ भन्नेबारेमा मुलुकको पहिलो पदाधिकारी राष्ट्रपतिको रुपमा सात वर्ष जिम्मेवारी बहसन गरिसक्नु भएको विद्यादेवी भण्डारीलाई पूरा जानकारी छ,’– उनले भने ।
भण्डारीबाट एमालेलाई अप्ठ्यारो हुनेखालका गतिविधि हुन्छन् भन्ने कुरा आफूले कल्पना पनि गर्न नसक्ने नेता थापाले बताए । भण्डारी अहिले विभिन्न ठाउँमा विभिन्न पक्षका सबै सर्वदलीय व्यक्तिहरु र पार्टीका पनि व्यक्तिहरुलाई भेट्दै जनसम्बन्धमा गइरहेको उनले बताए । केही मान्छेहरु अहिले विद्या भण्डारी र केपी शर्मा ओलीको बीचमा निकै ठूलो विवाद छ, द्वन्द्व छ, तनाव छ, मिलाउनै नसकिने खालको समस्या छ भन्ने ढंगले दु्ईवटा कित्ता सिर्जना गर्ने कोशिस गरेको उनले बताए । उनीहरुको यस प्रकारको गोरखधन्दा पूरा नहुने उनले बताए ।




प्रतिक्रिया