भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा बाढीको जोखिम, शतर्कता अपनाउन आग्रह


काठमाडौं, ४ असार । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा बाढीको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सूचना जारी गर्दै छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएको उल्लेख गरेका छन् ।

भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशीलगायतका क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

‘मिति २०८२ असार ३ गते देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ,’– सूचनामा भनिएको छ ।