समाजवादी चिन्तक शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकियो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक


काठमाडौं, ४ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । कांग्रेसका नेता शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा असार २ गते निधन भएको थियो ।

‘विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएका स्वर्गीय शास्त्रीले प्रजातन्त्र पुनर्स्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताउनु भएको थियो । स्व। शास्त्री जननायक बी।पी। कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत हुनुहुन्थ्यो । अर्घाखाँची जिल्लाको किमडाडामा वि।सं। १९९३ जेठ २५ गते जन्मनु भएका स्वर्गीय शास्त्री पटक(पटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै वि.सं. २०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान प्रकट गर्दछ,’– शोक प्रस्तावमा भनिएको छ ।

शास्त्रीको निधनबाट कांग्रेसले एक बौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको शोक प्रस्तावमा उल्लेख छ । कांग्रेसको संगठन निर्माण र सुदृढीकरणमा उनले पुयाएको योगदान, प्रजातन्त्रप्रतिको प्रतिवद्धता, समाजवादी विचारको प्रवर्द्धन तथा पार्टीका विभिन्न महत्वपूर्ण पदीय जिम्मेवारीमा रहेर उनले निर्वाह गरेको नेतत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहने उल्लेख छ ।

शास्त्रीप्रति उच्च सम्मान प्रकट गर्दै असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय भएको छ ।