भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन, विभिन्न समयका १४ जना गृहमन्त्रीमाथि छानविन हुनुपर्छः ज्ञानबहादुर शाही


काठमाडौं, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा विभिन्न समयमा गृहमन्त्री बनेका १४ जनामाथि छानविन हुनु्पर्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भिजिट भिसा प्रकरणलाई कुनै दल विशेषको एजेण्डा बनाउन नहुने बताए । उनले मानव बेचविखनविरुद्ध सबै दल एक ठाउँमा आउन आवश्यक रहेको बताए ।

‘भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । यो हामी सबैको साझा मुद्दा हो । आज एक जना गृहमन्त्रीको कुरा होइन । १४ जना गृहमन्त्रीको कुरा हो । २०६४ सालदेखि अहिलेसम्मको कुरा हो । त्यो भएको हुनाले, सम्पूर्ण राजनीतिक दल र सबै सांसदहरुलाई राप्रपाको तर्फबाट तपाईँहरुलाई अपिल छ– हामी एक ठाउँमा आऊँ । मानव बेचविखनविरुद्ध एकजुट बनौं । यो कुनै व्यक्ति र दलको मुद्दा होइन,’– उनले भने ।

भिजिट भिसाको नामा लाखौं मान्छेहरु बेचिएको बताउँदै उनले जनताले दिएको विश्वासलाई घात नगर्न नेताहरुलाई आग्रह गरे । उनले सरकारलाई अन्यायको महल धेरै दिन नटिक्ने चेतावनीसमेत दिए । एक जना सांसदले विरोध गर्दा पनि सदन सुचारु हुन नहुने उनले बताए । ‘जबसम्म भिजिट भिसा प्रकरणमा छानविन समिति बन्दैन र संसद्मा एउटा दलको पनि त्यत्तिकै हैसियत हुन्छ, एक जना सांसदको पनि त्यतिनै हैसियत हुन्छ । संसद्मा विरोधको वाबजुद पनि संसद् चल्यो भने राप्रपाले आज पनि संसद् बहिस्कार गर्छौं । हाम्रो माग सरकारले सम्बोधन गरोस्,’– उनले भने ।