सरकारले गलत गर्ने जो-कोही दण्डित हुनुपर्छ भन्ने मान्यता राखेर काम गरिरहेको छः एमाले नेतृ बराल


काठमाडौं, ९ असार । नेकपा (एमाले) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य सुनिता बरालले वर्तमान सरकार जनताप्रति जवाफदेही भएर आफ्नो काममा निरन्तर अगाडि बढिरहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले यस्तो बताएकी हुन् ।

साथै, उनले वर्तमान सत्ता गठबन्धनमा कुनै पनि समस्या नरहेको बताईन् । बजेट निर्माणको सन्र्दभमा सरकारको आलोचना भइरहेको सन्दर्भमा उनले भनिन्, ‘बजेट विनियोजन गर्दा सन्तुलित ढंगले नगरिएको कुराले एउटा सांसदले टिप्पणी गनै पाउने कुरा संसद्भित्रको उसको आफ्नो अधिकारको कुरा हो । तर, सरकार निर्माणसँग जोडिएको कुरा चाहिँ राजनीतिक कुरा हो । राजनीतिक विषयसँग सम्बन्धित भएर हेर्ने हो भने हामीले यो सरकार जनतालाई स्थायित्व दिने, सुशासन दिने, विकासको गतिलाई थप गतिशीलता दिने कुरामा प्रतिवद्ध भएर बनाएका हौं ।’

सरकार सञ्चालनमा कांग्रेस–एमालेजस्ता जीवन्त पार्टीहरु आजको दिनमा एकअर्कासँग छलफल गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । बजेट र कार्यक्रममाथिको टिप्पणीलाई सत्ता समस्याको रुपमा बुझ्न नहुने बरु यसलाई सांसदहरुको अधिकारको रुपमा हेरिनुपर्ने बताईन् ।

साथै, भ्रष्टाचारको सन्दर्भमा गलत गर्ने जो–कोही दण्डित हुनुपर्छ भन्ने मान्यता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको रहेको उनले बताईन् । गलत गर्नेहरु अहिले धमाधम कारबाहीको दायरामा आइरहेको उनको दाबी छ । ‘गलत गर्ने विषयले सरकारमा को छ भन्ने कुराबाट प्रभावित हुन हुँदैन । यो सरकार प्रतिवद्ध भएर गलत कुराको विरुद्धमा लागेको छ र सुशासन कायम गर्नका लागि भ्रष्टाचारीहरुको खोजतलास गर्ने, गलत भएका कामहरुको भण्डाफोर गर्ने कुरामा सरकार लागेको छ,’– उनले भनिन् । File Photo/RN