सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान,उजुरीकर्ताको नाम गोप्य राखिने


काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ । समितिले सोमबार सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशविरुद्ध कुनै सूचना वा उजुरी भए १० दिनभित्र पेस गर्न आग्रह गरेको हो ।

गत २० असोजमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।

पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश हुन् भने सारू उच्च अदालत पाटनका न्यायाधीश हुन् । त्यस्तै, डाँगी यसअघि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत थिए ।

संसदीय सुनुवाइ समितिले प्रकाशित गरेको सूचनामा प्रस्तावित न्यायाधीशलाई नियुक्त गर्न उपयुक्त नभएको लागेमा स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन सकिने उल्लेख छ । उजुरी शिष्ट र मर्यादित भाषामा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र पेस गर्नुपर्नेछ ।

इच्छुक व्यक्तिले समितिको सचिवालयमा सोझै वा कुनै जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सक्नेछन् । उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्नेछ । तर, उजुरीकर्ताले चाहेमा उनको नाम गोप्य राखिने समितिले जनाएको छ ।

प्राप्त उजुरीमाथि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइनेछ ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र प्रस्तावित न्यायाधीशहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।