काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ । जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ ।
‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियंत्रण, सुशासनको प्रत्याभूती, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्धारा वर्तमान सरकारलाई विगतमा दिईएको समर्थन बारे पुनः विचार गरि निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’– बैठकको निर्णयमा भनिएको छ ।
त्यस्तै, बैठकले आगामी भदौ २५, २६ र २७ गते आयोजित पार्टी प्रदेश अधिवेशनका लागि प्रदेश निर्वाचन सम्बन्धि निर्देशिका सर्वसम्मतिले पारित गरी जारी गर्ने निर्णयसमेत गरेको छ ।
आगामी असार २८ गते हुने दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यक परिसंघको राष्ट्रिय भेला एवं अन्तरक्रिया कार्यक्रममा पार्टीको तर्फबाट सहयोग र समन्वयका लागि उपाध्यक्ष विधुत बज्राचार्यको संयोजकत्वमा रेखा यादव, राजकुमार राई, लाक्पा शेर्पा, तारा बिश्वकर्मा, खालिद सिद्दिकी र पेशल ढकाल सम्मिलित कार्यदल गठनसमेत गरिएको छ ।
त्यस्तै, विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरी पार्टीमा क्रियाशील रहेकापार्टी सदस्यहरूमध्ये शशिकपुर मियां (पर्सा), करिमा वेगम (पर्सा), सुधिरनाथ पांडे (पर्सा), कैलाश गुरुङ (रूपन्देही) र निलम यादव (रूपन्देही) लाई केन्द्रीय समितीमा मनोनयन गरिएको छ ।




प्रतिक्रिया