काठमाडौं, १० असार । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले तहसनहस भएको मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालको दोस्रो पूर्ण बैठकलाई आज ललितपुरमा सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेकाले अब देश विकासले गति लिने बताए । महासचिव पोखरेलले नेपाली काङ्ग्रेस र एमालेको सरकार बने पनि देशको खराब अर्थतन्त्रको कारण जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको बताए ।
मुलुकमा भएका खराब काममा एमालेको सहभागिता नरहने तर, एमालेमाथि नै आरोप र हमला हुने गरेको उनको भनाइ रहेको छ । इतिहासमा असान्दर्भिक भइसकेको शक्तिले अहिलेको व्यवस्था र एमाले माथि प्रहार गरिरहेको उनले बताए ।
असान्दर्भिक भइसकेका राजावादीहरूले एमालेमाथि आक्रमण गर्नुको अर्थ एमाले ठिक ठाउँमा भएको महासचिव पोखरेलले उल्लेख गर्दै यो कुरा नयाँ पुस्तालाई बुझाउनुपर्ने र त्यो काम राष्ट्रिय युवा सङ्घ नेपालले गर्नुपर्ने बताए । एमाले र काङ्ग्रेस मिलेपछि साना दलको राष्ट्रिय औचित्य र भूमिका कमजोर भएको समेत बताए ।
महासचिव पोखरेलले वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउन खोज्नेहरू पनि एमाले र एमाले नेतृत्वविरुद्ध केन्द्रित रहेका बताए । आफ्नो कुनै इतिहास र भविष्यको योजना नभएका अराजकतावादीहरू भ्रम सिर्जना गरेर आफ्नो स्वार्थ सिद्ध गर्न लागेका उनले आरोप लगाए ।
उनले अहिले सामाजिक सञ्जालमा गलत मानिसको सक्रियताको कारण सामाजिक सञ्जाल नै खराब बनेको उल्लेख गर्दै युवालाई सामाजिक सञ्जालमा सकारात्मक र प्रभाकारी हुन आग्रह गरे । पोखरेलले पार्टीमा सङ्गठनात्मक अराजकता र अवसरवाद मौलाएको भन्दै चिन्ता व्यक्त गरे । सङ्गठनात्मक अराजकता र अवसरवाद प्रवृत्तिलाई पराजित नगर्दासम्म पार्टी सुदृढ नहुने उनको भनाइ थियो ।
सङ्गठनात्मक अराजकताले गुटबन्दी बढाउने र त्यसले पार्टीलाई कमजोर बनाउने उनको धारणा रहेको छ । ‘पार्टीमा अनुशासन कायम गर्नैपर्छ, संगठनलाई बलियो बनाउन आलोचना कानमा खुसुक्क गर्नुपर्छ, प्रशंसा खुलेर माइकमा गर्नुपर्दछ,’– उनले भने ।




प्रतिक्रिया