विद्या भण्डारीलक्षित ओलीको टिप्पणीः ‘मदन भण्डारीले महासचिव बन्छु भन्नु भएको थिएन, हाम्रो अगुवाइमा बनाइएको हो’


काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई एमालेको महासचिव आफूहरुको अगुवाइमा बनाइएको बताएका छन् । आज (शनिबार) ७४ औं मदन स्मृति दिवसको अवसरमा आयोजित ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले मदन भण्डारीले कहिल्यै पनि ‘म महासचिव बन्छु’ नभनेको बताए । पूर्वराष्ट्रपतिसमेत रहेकी विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा फर्किएर पार्टीको नेतृत्व लिने चर्चा भइरहेको बेलामा उनले यस्तो टिप्पणी गरेका हुन् ।

विद्या भण्डारीलक्षित गर्दै उनले भने, ‘जनताको बहुदलीय जनवादको पृष्ठभूमी या त्यसको आधारको विचारहरु तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो । मदन भण्डारीम महासचिव बन्ने कुरामा मदन भण्डारीको अगुवाइ थिएन, हाम्रो अगुवाइ थियो, अरु साथीहरुको अगुवाइ थियो । मदन भण्डारीले म बन्छु भन्नुभएको थिएन, हामीले नै बनाएका थियौं । छलफल, विश्लेषण गरेर, निष्कर्ष निकालेर हामीले बनाएका थियौं । त्यस कुरामा आम रुपमा भन्ने हो भने एउटा सहमतिको वातारण नै बनेको थियो र उहाँ महासचिव हुनुभएको थियो ।’

उनले मदन भण्डारीको जीवनमा अनेकौं आरोह–अवरोध आएको पनि बताए । मदन भण्डारीको राजनीतिक र व्यक्तिगत चरित्र हत्या गर्ने प्रयाससमेत भएको उनले बताए ।