काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सुगम देशको रुपमा परिणत गरेको दाबी गरेका छन् । आज (शनिबार) मदन स्मृति दिवसको अवसरमा आयोजित ‘जबजका तीन दशकविषयक राष्ट्रिय गोष्ठी’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले नेपालका सबै जिल्ला राष्ट्रिय सडकमार्गले जोडिने कुरा अब असार २० गते हुम्लाको सदरमुकाम जोड्ने सडक उद्घाटन गरेपछि पूरा हुने बताए ।
उनले भने,‘कुनैपनि सदरमुकाम अब दुर्गम रहेन, नेपाल दुर्गम रहेन । नेपाललाई हामीले सुगम देशको रुपमा परिणत गराएका छौं । यो जबजको सफलता होईन ? हामीले ९८ प्रतिशतश मानिसलाई विद्युत पुर्याएका छौं । ९० प्रतिशतभन्दा माथिलाई खानेपानी पुर्याएका छौं । पम्पिङ सिस्टम सुरु गरेका छौं । नेपाललाई टनेल युगमा प्रवेश गराएका छौं । तुईन हामीले देख्नै सकेनौं, लखेटेर वंशविनाश गरेर छोड्यौं । यो सफलता होईन ?’
उनले कृषि क्षेत्रको पनि ठूलो प्रगति गरेको दाबी गरे । उनले कृषिको विकास हेर्न गाउँतिर जानपनि विरोध गर्नेहरुलाई सुझाव दिए । काठमाडौंको एउटा कोठामा टिभी हेरेर कृषि क्षेत्रको विकास भएन भनेर आलोचना गरिएकोमा उनले आक्रोश पोखे । उनले मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आज विभिन्न ठाउँमा कार्यक्रम गरिएको र वृक्षारोपण समेत भएकोमा कतिपय मिडियामा राष्ट्रियसभाको कार्यक्रम भाँड्न लागिएको भनेर प्रचार गरेकोमा दुःख व्यक्त गरे ।
उनले कतिपयले आज विद्या भण्डारीले र आफूले बम पड्काउन लागेको र यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ भनेर सपना देखेको भन्दै विरोध गरे । उनले भने,‘कुनै बम, बारुद, गोला पड्किनेवाला छैन, एमाले एक छ । एक रहन्छ । एकजुट भएर अगाडि बढ्छ ।’




प्रतिक्रिया