काठमाडौं, असार १५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न किसानलाई न्याय गर्नुपर्ने बताएका छन्।
धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै दाहालले जलवायु अनुकूल धानका जात र स्थान अनुसार मल सिफारिस प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने बताए।
साना किसानलाई सहकारीमार्फत बजार पहुँच सहज बनाउनुपर्नेमा पनि उनले जोड दिए।
“धानबाली हाम्रो प्रमुख खाद्यबाली मात्र होइन, सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्त्वपूर्ण कडी हो,” दाहालले सन्देशमा भने।
नेपालको कुल खाद्यान्न उत्पादनमा धानको योगदान ५० प्रतिशतभन्दा बढी रहेको भन्दै उनले उत्पादन बढाउन बीउ, मल, सिँचाइ तथा धान जोनमा पर्याप्त लगानी आवश्यक रहेको उल्लेख गरे।
उनले अघिल्लो सरकारले मल आपूर्ति र सिँचाइमा पारदर्शिता र प्राथमिकता दिएको दाबी गर्दै, अहिलेको सरकारको कमजोरीले यी समस्या झन जटिल बन्दै गएको बताए।
“धानबालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भरता हासिल गर्न सरकार गम्भीर हुनुपर्छ,” भन्दै उनले किसानलाई न्याय दिन सरकारसँग आग्रह गरे।




प्रतिक्रिया