हामी शिक्षक महासंघसँग भएको सहमतिअनुसार नै विधेयक टुङ्ग्याउन चाहन्थ्यौं, सरकार तयार भएनः देवेन्द्र पौडेल


काठमाडौं, १७ असार । नेकपा (माओवादी केन्द्र) सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले नेपाल शिक्षक महासंघसँग गरेको सहमति कार्यान्वयन गर्न सरकार तयार नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले महासंघसँग सरकारले गरेको सहमतिअनुसार नै अगाडि बढौं भन्दा पनि सरकार तयार नभएको बताएका हुन् ।

उनले भने, ‘सरकारको विधेयक निर्माण गर्ने प्रक्रियातिर सरोकारवालासँग गरेका सहमति र सम्झौताहरुप्रति इमादारिता प्रकट भएन । त्यसो भएपछि शिक्षक महासंघले पनि मानेन । हामीले उहाँहरुको मागअनुसार नै विधेयक टुङग्याएर अगाडि बढौं न । राष्ट्रिय सभा पनि छ, यहाँ आपूर्ण रह्यो भने त्यहाँ सच्याउन सकिन्छ भनेर बेलुका अबेरसम्म बस्दा पनि सरकार तयार भएन ।’

आफूहरुले दवाब दिएको र अनुरोध गरेको बताउँदै उनले त्यो सरकारकै कारण सम्भव नभएको उनले बताए । सरकार र शिक्षक महासंघबीच भएको सम्झौता कार्यान्वयनमा सरकार इमानदार नभएको उनले बताए ।

‘यो विधेयक समयमा नै टुङ्ग्याउँ भन्ने कुरा सभापतिसहित सबैको एकमतको धारणा थियो । तर,सरकारले हिजो जबरजस्ती रोक्नुपर्छ, हामी अझैं शिक्षक महासंघसँग सहमतिमा पुग्न सकेनौं । रोकिदिनुस् भनेर सकारले त्यो भनिसकेपछि विमती राख्दाराख्दै पनि अर्को उपाय भएन,’– उनले भने ।