विद्या भण्डारीको इन्ट्रीले एमालेमा हलचल, नेतृत्वबारे बहस रोक्न निर्देशन


काठमाडौं, १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को सदस्यता नवीकरण गरेको घोषणा गरेसँगै असन्तुष्ट समूह निकै उत्साहित देखिएको छ । एमालेको ११औं महाधिवेशनबाट अब भण्डारीलाई पार्टी अध्यक्ष बनाउने असन्तुष्ट समूहको तयारी रहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट मानिएका नेताहरुले भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको राम्रो मानेका छैनन् । भण्डारीले राष्ट्रपतिजस्तो संस्थाको ओज र गरिमालाई जोगाएर सबैको साझा बन्न नसकेको उनीहरुको टिप्पणी रहेको छ ।

यता एमाले महासचिव शंकर पोखरेलले पार्टीको नेतृत्वबारे बहस रोक्न निर्देशन दिएका छन् । बागमती प्रदेशको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले अहिले नेतृत्वबारे बहस गर्ने बेला नभएको बताएका हुन् । महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस गर्न नहुने उनको भनाइ छ । नीति र विधि निर्माणमा केन्द्रित हुन उनले पार्टी पंत्तिलाई निर्देशन दिए ।

पार्टीको ११औं महाधिवेशनमा भण्डारीलाई अध्यक्ष बनाउन चाहने समूहले गतिविधि गरिराख्दा ओली पक्षधर नेताहरुले पनि रणनीति बनाइरहेका छन् । उनीहरु विधान संशोधन गरेर तेस्रो पटक ओलीलाई पार्टी अध्यक्ष बनाउन चाहन्छन् । एमालेको विधान अधिवेशन आगामी भदौमा हुने तयारी रहेको छ । पार्टीको विधानमा रहेको ७० वर्षे उमेर हदलाई हटाएर ओलीको लागि मार्ग प्रशस्त गर्ने रणनीति उनीहरुको रहेको छ ।